अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी पक्राउ

इनेप्लिज २०८१ चैत १७ गते १३:१२ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यको मिनेसोटा विश्वविद्यालयका एक स्नातक विद्यार्थीलाई बिहीबार अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिइ) अधिकारीहरूले बाहिर रहेको निवासबाट पक्राउ गरेको छ। 

यो घटनाबारे विश्वविद्यालयले शुक्रबार वक्तव्य जारी गर्दै जानकारी गराएको छ।

विश्वविद्यालयका अध्यक्ष रेबेका कनिङ्घम, विद्यार्थी मामिला उपाध्यक्ष क्याल्भिन फिलिप्स र समानता तथा विविधता उपाध्यक्ष मर्सिडिज रामिरेज फर्नान्डेजले हस्ताक्षर गरेको उक्त वक्तव्यमा घटनालाई “गम्भीर चिन्ताजनक” भनिएको छ। 

विश्वविद्यालयका अनुसार पक्राउ परेका विद्यार्थी ट्विन सिटिज क्याम्पसका विद्यार्थी हुन्।

यद्यपि, विश्वविद्यालयले घटनाबारे थप विस्तृत जानकारी नभएको बताएको छ। 

साथै, यो पक्राउबारे पहिले कुनै जानकारी नभएको र संघीय अधिकारीहरूसँग कुनै जानकारी आदानप्रदान नगरिएको स्पष्ट गरेको छ।

पक्राउ परेका विद्यार्थीको नाम सार्वजनिक गरिएको छैन। विद्यार्थीको नागरिकता, प्रवेशाज्ञा(भिसा)को प्रकार र स्थितिबारे कुनै जानकारी उपलब्ध नगराईको एनविसिन्यूजले जनाएको छ ।

शनिबार साँझसम्म आइसिइ वा मातहतको गृह  विभागले यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

मिनेसोटाका गभर्नर टिम वाल्जले शुक्रबार होमल्यान्ड सेक्युरिटी विभाग( गृह सुरक्षा विभाग)सँग सम्पर्क गरेको र घटनाबारे थप जानकारी लिने बताएका छन्।

“मिनेसोटा विश्वविद्यालय अन्तर्राष्ट्रिय शिक्षा र अनुसन्धानको केन्द्र हो। यहाँ विभिन्न भिसा( प्रवेशाज्ञा)मा अध्ययन गरिरहेका विद्यार्थीहरू छन्, र ,हामीलाई यसबारे स्पष्ट उत्तर चाहिन्छ,” वाल्जले सामाजिक सञ्जाल एक्स(X )मार्फत बताएका छन्।

प्रतिक्रिया