अवैध कर घोषणा विरुद्ध दोस्रो अदालतको फैसला बिरुद्ध ट्रम्प प्रशासनद्वारा अपिल अदालतमा दर्ता

इनेप्लिज २०८२ जेठ २१ गते १०:२३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक टेरिफ (आयात कर) नीतिलाई “अवैध” घोषणा गर्ने अदालतको निर्णयपछि ट्रम्प प्रशासनले गत सोमबार सो निर्णय विरुद्ध संघीय अपील अदालतमा अपिल दर्ता गरेको छ।

ट्रम्प प्रशासनले चेतावनी दिँदै भन्यो, “अदालतका यी निर्णयहरूले विश्वका लगभग सबै व्यापार साझेदारसँग भइरहेका संवेदनशील वार्तामा गम्भीर असर पुर्‍याउँछन्।”

गत हप्ता वाशिङ्टन डी.सी.को संघीय अदालतले दुई खेलौना प्रतिष्ठान (कम्पनी)द्वारा दायर मुद्दामा फैसला सुनाउँदै ट्रम्पले “बिश्व आर्थिक प्रणाली पुनःव्यवस्थित गर्ने” नाममा एकल निर्णयमा आयात शुल्क लगाउने अधिकार नरहेको ठहर गरेको थियो।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले पनि २४ घण्टा अघि शुल्क अवैध भएको निर्णय सुनाएको थियो, जसलाई पछि अस्थायी रूपमा रोक लगाइएको थियो।

न्यायाधिश रुडोल्फ कोन्ट्रेरासको फैसला अनुसार शुल्कको कार्यान्वयन हाललाई दुई खेलौना कम्पनीहरूमा मात्र रोकिएको छ, तर यसको व्यापक कानुनी असर हुने देखिन्छ।

गत अप्रिलमा ट्रम्पले ह्वाइट हाउसमा आयोजित समारोहमा “मुक्ति दिवस” घोषणा गर्दै दर्जनौं मुलुकमाथि नयाँ आयात करको घोषणा गरेका थिए।

न्याय विभागका वकिलहरूले न्यायाधिश कोन्ट्रेरासको फैसलाले राष्ट्रपतिको संवैधानिक अधिकारमा हस्तक्षेप गरेको दाबी गरेका छन् । वकिलहरुले व्यापार सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय व्यापार अदालतमा मात्र सुनुवाइ हुनुपर्ने बताइएको छ।

प्रतिक्रिया