गत सोमबार साउदी अरेबियामा भएको अमेरिका- रूस वार्ताको विवरण सार्वजनिक नगर्ने क्रेमलिनले जनाएको छ।
क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले “यो प्राविधिक वार्ता भएकाले यसको सामग्री सार्वजनिक हुँदैन,” भन्दै वार्ताले गहन विषयहरू समेटेको उल्लेख गरे। उनले अगाडी भने , “वार्ताका प्रतिवेदनहरू अहिले सम्बन्धित राजधानीमा विश्लेषण भइरहेका छन्, र त्यसपछि मात्र कुनै निष्कर्ष निकाल्न सकिन्छ।”
रियाधमा भएको यो बन्द-द्वार वार्ता १२ घण्टासम्म चलेको थियो। वार्ताको संयुक्त वक्तव्य मंगलबार जारी हुने सम्भावना रहेको विभिन्न पत्र पत्रिकाले उल्लेख गरेका छन् ।
रूसका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी संघीय समितिका अध्यक्ष ग्रिगोरी करासिनले वार्तालाई “विस्तृत, जटिल तर दुवै पक्षका लागि उपयोगी” भएको बताएका छन्।
सोमबारको वार्तामा कालो सागर(ब्लाक सि)मा सम्भावित युद्धविराम र ऊर्जा तथा अन्य पूर्वाधारमाथिको लामो दूरीका आक्रमण रोक्न छलफल हुने अपेक्षा गरिएको थियो। यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका हुन्, जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहमति जनाएका थिए।
यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि प्रस्तावलाई सैद्धान्तिक रूपमा स्वीकार गरे पनि सीमा क्षेत्रमा आक्रमण जारी छ।
सोमबार राति रुसी आक्रमणपछि जेलेन्स्कीले “शान्ति सुनिश्चित गर्न रूसमाथि दबाब आवश्यक छ,” भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरे। त्यस्तै, युक्रेनी वायु सेनाले रुसी मानव रहित यान (ड्रोन )र क्षेप्यास्त्र( मिसाइल )आक्रमणमा ७८ वटा मानव रहित यान (ड्रोन )खसालिएको र ३४ वाट मानव रहित यान (ड्रोन)ले क्षति नपुर्याई हराएको जानकारी दियो।
रूसको रक्षा मन्त्रालयले कब्जामा रहेको क्राइमियामा युक्रेनी मानव रहित यान (ड्रोन)हरू खसालिएको दाबी गरेको छ।
प्रतिक्रिया