वाशिङ्टन डि.सी — बिहीबार, एक संघीय न्यायाधीशले न्याय विभाग आफ्नो दायित्वबाट बच्न खोजेको आरोप लगाएका छन् न्यायाधिशले आफ्नो मागअनुसार अमेरिकाबाट एल साल्भाडोर उडानहरूको बारेमा पर्याप्त जानकारी नदिएको बताए। उनले विभागको प्रतिक्रिया “अत्यन्त अपर्याप्त” भएको टिप्पणी गरे।
संघीय जिल्ला अदालत, वाशिङ्टन डी.सी.का प्रमुख न्यायाधीश जेम्स बोआसबर्गले शनिबार एल साल्भाडोर लाने दुई उडानहरूलाई अमेरिकी हवाई क्षेत्रबाट फर्काउन आदेश दिएका थिए। तर, ट्रम्प प्रशासनले यो आदेश पालना नगरी एल साल्भाडोर पुर्याएका थिए । प्रशासनले उडानहरू अमेरिकी हवाई क्षेत्रबाहिर पुगिसकेको र न्यायाधीशको अधिकार क्षेत्रभन्दा बाहिर थियो भन्दै तर्क पेश गरेका थिए ।
यी उडानहरू २०० भन्दा बढी भेनेजुएलाली नागरिकहरूलाई एल साल्भाडोर पुर्याउनका लागि गरिएका थिए। ट्रम्प प्रशासनले सन् १७९८ को एलियन एनिमिज एक्ट (बिदेशी शत्रु ऐन )नामक युद्धकालीन कानुनको आधारमा उनीहरूलाई निष्कासन गरेको छ । यो कानुनले राष्ट्रपतिलाई युद्धको समयमा विदेशी नागरिकहरूलाई हटाउने व्यापक अधिकार दिन्छ। तर, शनिबार न्यायाधीश बोआसबर्गले प्रशासनलाई यो अधिकार प्रयोग गर्न रोक लगाए।
सरकारले आफ्नो आदेश पालना नगरेपछि, न्यायाधीश बोआसबर्गले सरकारलाई उडानहरूबारे विस्तृत विवरण माग गर्दै प्रश्नहरूको सूची पठाए। उनले उडानहरूको प्रस्थान समय, प्रस्थान स्थल, अमेरिकी हवाई क्षेत्र छाड्ने समय, अवतरण समय, र निकाला गरिएका नागरिकहरू अमेरिकी हिरासतबाट कहिले बाहिरिए भन्ने जानकारी दिन आदेश दिए।
न्यायाधीशले बिहीबार मध्यान्हसम्म जवाफ दिन सरकारलाई समयसीमा तोकेका थिए। “यो अत्यन्तै अपर्याप्त छ भन्दै न्यायाधीश बोआसबर्गले आफ्नो आदेशमा लेखेका छन् ।
बोआसबर्गले देश निकाला उडानहरूको बारेमा थप जानकारी मागेका थिए । अधिकारीहरूले ती उडानहरू फर्काउन असफल भए। ट्रम्प प्रशासनले अहिलेसम्म देश निकाला गरिएका कथित गिरोह सदस्यहरूको नाम सार्वजनिक गरेको छैन।
बोआसबर्गले सरकारलाई मार्च २५ सम्म कारण देखाउन आदेश दिएका छन् । उनले सरकारलाई ट्रम्पको मन्त्रीमण्डलमा राज्य गोपनीयता विशेषाधिकारको बारेमा छलफलमा संलग्न एक व्यक्तिबाट शुक्रबार बिहान १० बजे सम्म शपथ पत्र पेश गर्न र मार्च २५ सम्म गोपनीयता विशेषाधिकार लागू गर्ने योजनामा रहेको छ कि छैन भन्ने बताउन अनुरोध गरेका छन्।
प्रतिक्रिया