जबसम्म बन्धकहरू मुक्त हुँदैनन् तब गाजा आक्रमण जारी रहन्छ : इजरायली अधिकारी

इनेप्लिज २०८१ चैत ५ गते १०:५२ मा प्रकाशित

जबसम्म बन्धकहरू मुक्त हुँदैनन् तब गाजा आक्रमण जारी रहने एक इजरायली अधिकारी बताएका छन् ।

इजरायलले दुई महिनाको युद्धविरामपछि गाजा भूभागमा बमबारी पुनः सुरु गरेको छ। एबिसन्यूजका अनुसार मंगलबार रातभरिको आक्रमणमा कम्तीमा ४२० जना मारिएको बताइएको छ । मारिनेहरुमा १३० भन्दा बढी बालबालिका रहेको युनिसेफले जनाएको छ। युद्धविराम जनवरीमा सुरु भएको थियो, तर हाल हमास र इजरायल बीचको वार्ता असफल भएपछि पुनः हिंसा भड्किएको हो।

इजरायली अधिकारीका अनुसार हमासलाई “गम्भीर क्षति” पुर्‍याइएको छ । बुधबार इजरायली रक्षा बलले गाजामा थप हवाई हमला गरेको छ। इजरायली नौसेनाले हमास र प्यालेस्टाइन इस्लामिक जिहादले प्रयोग गर्न लागेका भनिएका केही डुंगाहरू नष्ट गरेको बताइएको छ।

गाजामा नयाँ आक्रमणले अक्टोबर २०२३ देखि जारी द्वन्द्वलाई पुनः चर्काएको छ। जनवरी युद्धविरामको क्रममा ३३ इजरायली बन्धकहरू मुक्त भएका थिए भने इस्रायलले १,८०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो।

हाल अनुमानित ५९ जना इजरायली बन्धकहरू गाजामा छन्, जसमा २४ जीवित रहेको विश्वास गरिन्छ। अमेरिकी-इजरायली नागरिक एडन अलेक्जान्डर अन्तिम जीवित अमेरिकी बन्धक रहेको बताइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हमासविरुद्ध “अझ तीव्र” आक्रमण गर्ने बताएका छन्।

प्रतिक्रिया