ट्रम्पद्वारा यमनमा हूथी विद्रोहीविरुद्ध ‘निर्णायक’ सैन्य कारबाही सुरू

इनेप्लिज २०८१ चैत १ गते १९:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पले यमनमा हूथी विद्रोहीविरुद्ध ‘निर्णायक’ सैन्य कारबाही सुरू भएको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले इरान समर्थित हूथी विद्रोहीहरूविरुद्ध ठूलो सैन्य कारबाही शुरू गरेको घोषणा गरेका छन्। रेड सी (लाल सागर) मा अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय जहाजहरूमाथि लगातार आक्रमण गरिरहेको हूथी समूहलाई परास्त गर्न अमेरिका “अत्यन्त शक्तिशाली घातक बल” प्रयोग गरिरहेको ट्रम्पले बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेख्दै भने, “हूथी विद्रोहीहरूले समुद्री लुटपाट, हिंसा, र आतंकको अभियान चलाइरहेका छन्। तिनीहरूको आक्रमणका कारण अमेरिकी तथा अन्तर्राष्ट्रिय व्यापार तथा सुरक्षामा गम्भीर असर परेको छ। यसकारण, आजदेखि उनीहरू विरुद्ध निर्णायक कारबाही शुरू भएको छ।”

हूथीहरू विरुद्ध सैन्य कारबाहीको लक्ष्य के छ?

अमेरिकी सेनाले विशेष रूपमा हूथी विद्रोहीहरूको हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र प्रक्षेपण स्थल, र सैन्य गढहरूलाई लक्षित गरि रहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार, यी हमलाहरू रणनीतिक रूपमा ढाचा गरिएका छन्, जसले हूथीहरूको सैन्य क्षमतालाई कमजोर पार्नेछ।

एक उच्च स्रोतले सिएनएनलाई भने, “यो कुनै एक पटकको हमला होइन, यो निरन्तर चल्नेछ। केही दिनदेखि लिएर केही हप्तासम्म अमेरिकी सेनाले हुथी हरूको प्रमुख सैन्य संरचनाहरूमाथि आक्रमण गर्नेछ। तर, अमेरिकाले स्थल सेनाहरू पठाउने छैन।”

हूथी विद्रोहीहरू र उनीहरूको आक्रमणको कारण :

हूथी विद्रोहीहरू जसलाई इरानले समर्थन गर्छ । यमनको उत्तरपश्चिमी भागमा आफ्नो पकड जमाइरहेका छन्। सन् २०१४ देखि यी विद्रोहीहरूले यमनको राजधानी सानासमेत नियन्त्रणमा लिएका छन्। उनीहरूले हालका महिनाहरूमा लाल सागर (रेड सी )हुँदै जाने अमेरिकी र अन्य व्यापारिक जहाजहरूलाई लगातार आक्रमण गर्दै आएका छन्।

हूथीहरूका अनुसार, उनीहरूको आक्रमण इजरायलको गाजामा भइरहेको कारबाहीको विरोधमा गरिएको प्रतिरोध हो। उनीहरूले भनेका छन्, “जबसम्म गाजाका नाकाहरू खोलिदैनन् र मानवीय सहायता प्रवेश गर्न दिइँदैन, तबसम्म हाम्रो कारबाही जारी रहनेछ।”

बाइडेन प्रशासनको नीति ‘कमजोर’ भएको ट्रम्पको दाबी :

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले यसअघि पनि हूथीहरू विरुद्ध लक्ष्यित हमलाहरू गरेको थियो। अक्टोबर र नोभेम्बर २०२४ मा अमेरिकी सेनाले यमनमा हूथीहरूको भूमिगत हतियार भण्डारमाथि बमबारी गर्यो। तर, ट्रम्पका अनुसार बाइडेन प्रशासनको कदम ‘कमजोर’ थियो, जसका कारण हूथीहरूको आक्रमण रोकिन सकेन।

ट्रम्पले भने, “बाइडेन प्रशासनको पाखण्डपूर्ण कमजोरीका कारण अमेरिकाको व्यापारिक र सैन्य जहाजहरू महिनौंसम्म आक्रमणको शिकार बनिरहे। अब, त्यो समय सकियो। आजबाट हामीले स्पष्ट सन्देश दिएका छौं – कुनै पनि आतंककारी संगठनले अमेरिकी जहाजहरूको स्वतन्त्र आवागमन रोक्न पाउने छैन।”

इरानलाई ट्रम्पको कडा चेतावनी :

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई पनि चेतावनी दिँदै भने, “इरानले तुरुन्तै हूथी विद्रोहीहरूलाई सहयोग दिन रोक्नुपर्छ। यदि तिमीहरूले अमेरिकी राष्ट्रपतिको चेतावनीलाई हलुका रूपमा लियौ भने, यसको गम्भीर परिणाम भोग्नुपर्नेछ। यो कुनै सामान्य चेतावनी होइन। अमेरिका अब नरम व्यवहार गर्ने छैन।”

यमनमा पहिलो प्रतिक्रिया – ९ को मृत्यु, कैयौं घाइते

यमनको हूथी-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार अमेरिकी आक्रमणका कारण कम्तीमा ९ जना मारिएका छन् भने ९ जना गम्भीर घाइते भएका छन्।

अहिलेको अवस्थामा लाल सागर हुँदै व्यापार गर्न कठिन बन्दै गएको छ, र यो सैन्य कारबाहीले क्षेत्रीय तनाव अझ बढ्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया