ट्रम्पको युक्रेन युद्धविरामको प्रस्तावलाई पुटिनले समर्थन गर्ने, केही विषयहरूमा छलफल गर्न आवश्यक रहेको बताए

इनेप्लिज २०८१ फागुन २९ गते २१:०५ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अमेरिकाले प्रस्ताव गरेको युक्रेनमा ३० दिने युद्धविरामको अवधारणालाई समर्थन गर्ने बताएका छन्। 

एपिका अनुसार तर उनले युद्धविरामका सर्तहरू अझै टुंगो लगाउनु पर्ने बताए, साथै यो दीर्घकालीन शान्तिको मार्ग प्रशस्त गर्ने हिसाबले हुनुपर्नेमा जोड दिए।

“ हामी यसलाई निश्चय रूपमा समर्थन गर्छौं,” पुटिनले मस्कोमा आयोजित एक पत्रकार सम्मेलनमा भने।

“तर केही विषयहरू छन् जसमा हामी छलफल गर्न आवश्यक छ, र मलाई लाग्छ कि हामीले अमेरिकी साझेदारहरूसँग यसबारे छलफल गर्नुपर्छ,” उनले भने। 

साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अर्को दूरवार्तामा विस्तृत छलफल गर्न सक्ने संकेत दिए।

पुटिनका अनुसार, युक्रेनी सैनिकहरू रूसको कर्स्क क्षेत्रमा आफ्नो अन्तिम गढमा घेराबन्दीमा परेका छन्। युद्धविराम लागू गर्नु अघि उनीहरूले हतियार बुझाउने वा आत्मसमर्पण गर्ने विषय स्पष्ट हुनुपर्ने उनको धारणा रहेको एपिले समाचारमा उल्लेख गरेको छ।

“हामी युद्ध रोक्ने प्रस्तावसँग सहमत छौं, तर युद्धविरामले दीर्घकालीन शान्ति कायम गर्नुपर्छ र संकटका जडहरू हटाउनु आवश्यक छ,” पुटिनले भने। उनले सधैंजसो युद्धको दोष युक्रेनलाई लगाउँदै आफ्नो पूर्ण-स्तरीय आक्रमण सही रहेको तर्क गरे।

अमेरिकी दूत मस्कोमा वार्ताका लागि पुगि सकेका छन्।एक वरिष्ठ अमेरिकी दूत मस्को पुगे पछि पुटिनको यो टिप्पणी केही घण्टापछि आएको हो ।

उनी अमेरिकाद्वारा प्रस्तावित ३० दिने युद्धविरामबारे छलफल गर्न आएका हुन्। यसैबीच, पुटिन आफैं कर्स्क क्षेत्रमा आफ्ना सैनिक सेनापतिहरुसॅग भेट्न पुगेका थिए। 

उनले सैन्य पोशाक लगाएर रूसी सेनालाई समर्थन जनाउँदै क्षेत्रलाई पूर्णरूपमा पुनः कब्जा गर्ने प्रतिज्ञा गरेका थिए।

प्रतिक्रिया