रुसद्वारा युक्रेन युद्धविराम प्रस्तावमा टिप्पणी गर्न अस्वीकार, पुटिन-ट्रम्प बीच संवादको सम्भावना

इनेप्लिज २०८१ फागुन २८ गते ११:०६ मा प्रकाशित

रुसले गत मंगलबार संयुक्त राज्य अमेरिका र युक्रेनबीच सहमति भएको युद्धविराम प्रस्ताव रूसका लागि स्वीकार्य छ कि छैन भन्ने विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ । क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभका अनुसार मस्कोले सबैभन्दा पहिले वार्तामा संलग्न अमेरिकी अधिकारीहरूबाट ब्रिफिङ (विवरण )प्राप्त गर्ने अपेक्षा राखेको पत्रकारहरुलाई बताए ।

बुधबार पत्रकारहरूसँगको दैनिक कुराकानीमा पेस्कोभले अमेरिकी विदेश मन्त्री मार्को रुबियो र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आगामी दिनहरूमा मस्कोलाई वार्ताका नतिजाबारे जानकारी गराउने बताए।

रुबियो र वाल्ट्जले मंगलबार साउदी अरेबियाको जेद्दाहमा युक्रेनी शीर्ष अधिकारीहरूसँग भेट गरेका थिए। वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावअनुसार ३०-दिनको युद्धविराम स्वीकार गरेको घोषणा गरे ।

पुटिन-ट्रम्प संवादको सम्भावना :

पेस्कोभले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सम्भावित बैठकको मिति र स्थानबारे कुनै निश्चितता नरहेको बताए।

तर उनले दुई नेताबीच शीघ्र दूरवार्ताहुन सक्ने संकेत गरेका छन् । यदी यस्तो आवश्यक पर्दछ भने शीघ्र वार्ता आयोजना गर्न सकिन्छ। अमेरिकासँग रहेको संवादका विद्यमान माध्यमहरूले छोटो समयमा नै यो सम्भव बनाउँछ, पेस्कोभले भने।

प्रतिक्रिया