मलाई पुर्न खाल्डो खन्नेहरु आफैं जाकिनेछन् रबि लामिछाने

इनेप्लिज २०८१ फागुन २६ गते २१:१० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजावादीहरुको प्रदर्शनमा जनताको उल्लेख्य उपस्थिति हुनुको कारणबारे दुई तिहाईको सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

सहकारीको बचत अपचलन मुद्धाको सुनुवाइका लागि सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका लामछिानेले सञ्चारकर्मीसँग कुरा गर्दै राजावादीको जुलुसमा जनता सहभागी हुनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले राजावादी आन्दोलनमा सहभागी भएकाहरु पनि जनता नै भएकाले उनीहरुबारे केही नबोल्ने उल्लेख गरे । लामिछानेले आफू केही समय मौन रहेको भन्दै अब बोल्ने समय आएको बताए ।

आफूहरुले सात महिनाअघि सरकार छाड्नुअघि अघि बढाएका विभिन्न भ्रष्टाचार प्रकरणको अनुसन्धान वर्तमान सरकारले रोकेको आरोप लामिछानेले लगाए ।

‘हामीले भ्रष्टाचारविरुद्ध ठूलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । सात महिनामा ती सबै बन्द भए भन्ने सुनेको छु’, उनले भने, ‘अहिले जे भइरहेको छ त्यसको जिम्मेवारी दुई तिहाइको सरकारले नै लिनुपर्छ ।’

उनले केही समयपछि आफूले विस्तृतमा आफ्ना कुरा सार्वजनिक गर्ने जानकारी दिए । लामिछानेले सत्तानिकटका व्यक्तिहरुलाई विभिन्न प्रकरणमा छानीछानी जोगाएको र विपक्षीमाथि प्रतिशोध साँधिएको आरोप लगाए ।

लामिछानेले आफूलाई छलकपट गरेर संसदमा जान रोके पनि आफ्ना दलका सांसदहरुले जनताको आवाज बोलिरहेको उल्लेख गरे । फरक प्रसंगमा उनले आफूलाई पर्न भनेर खनिएको खाल्डोमा सत्तारुढ काँग्रेस र एमालेका नेताहरु जाकिने दाबी गरे ।

‘मलाई पुर्न भनेर जुन खाल्डो खनेका छन् । सानो खाल्डो त भए म मात्रै पुरिन्थेँ । तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्,’ उनले भने।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया