उत्तर कोरियाद्वारा बहु क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०८१ फागुन २६ गते ११:३१ मा प्रकाशित

अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यास सुरु संगै उत्तर कोरियाले बहु प्राक्षेपिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

अमेरिका-दक्षिण कोरियाको वार्षिक संयुक्त सैन्य अभ्यास सोमबारदेखि सुरु भएको छ।

दक्षिण कोरियाली संयुक्त प्रमुख सेनापतिहरूका अनुसार उत्तर कोरियाले सोमबार प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक ) प्रक्षेपण गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार अपरिचित ती क्षेप्यास्त्रहरू उत्तर कोरियाको ह्वाङहे प्रान्तबाट स्थानीय समयअनुसार दिउँसो १:५० बजे प्रक्षेपण गरिएका थिए । जसको लक्ष्य पश्चिमी समुद्रतर्फ थियो।

दक्षिण कोरियाली सेनाले भनेको छ, “हामीले निगरानी बढाएका छौँ र अमेरिकासँग घनिष्ठ समन्वय गर्दै उच्च सतर्कता कायम गरेका छौँ।”

अमेरिकी सेनाका अनुसार वार्षिक “फ्रिडम शिल्ड” नामक संयुक्त सैन्य अभ्यास सोमबारदेखि सुरु भई मार्च २१ सम्म चल्नेछ।

यस प्रशिक्षण अन्तर्गत शहरी युद्ध, मैदान अस्पताल सञ्चालन, तोपखाना अभ्यास, हवाई आक्रमण प्रशिक्षण, र हवाई प्रतिरक्षा रणनीति समावेश हुनेछन्। साथै, अमेरिकी नौसेनाले संयुक्त आक्रमण अभ्यासमा पनि भाग लिनेछ।

उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको यो सैन्य अभ्यासलाई “आक्रामक” भन्दै आलोचना गरेको छ।

प्रतिक्रिया