एबिसीन्यूजले जनाए अनुसार सिरियामा हिंसा झन् झन् भयावह बन्दै गएको बताएको छ । नयाँ सरकार र पूर्व राष्ट्रपति बशर अल-असदका समर्थकबीचको झडपमा १,०१८ जनाको मृत्यु भएको विवरण आएको छ, जसमा ७४५ सर्वसाधारण रहेको बताइएको छ।
सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (मानव अधिकारको लागि सिरियाली निरीक्षण) का अनुसार पछिल्लो दुई दिनमा असद समर्थक लडाकुहरूले पश्चिमी सिरियाका गाउँहरूमा आक्रमण गर्दै साम्प्रदायिक हत्याकाण्ड मच्चाएका छन्।
यो हिंसा तीन महिनाअघि असद सत्ताच्युत भएयताकै सबैभन्दा खराब भएको बताइएको छ। विशेषगरी लाटाकिया र टार्टुस क्षेत्रमा सरकारी फौज र असद समर्थक समूहबीच घम्साघम्सी भइरहेको छ। असद समर्थक लडाकुहरूले बिहीबार सरकारी सुरक्षा बलमाथि आक्रमण गरेका थिए।
अलावाइट समुदाय बसोबास गर्ने यी क्षेत्रहरू असदको पुरानो गढ मानिन्छ। प्रत्यक्षदर्शीका अनुसार केही गाउँमा असद समर्थक लडाकुहरूले अलावाइट समुदायका पुरुषहरूलाई सडकमा मारेर घरहरू जलाएका छन्।
युद्ध पर्यवेक्षक संस्थाका अनुसार, झडपमा सरकारी सुरक्षा बलका १२५ सदस्य तथा असद समर्थक १४८ लडाकुहरू मारिएका छन्। हिंसाका कारण बिजुली, पानी आपूर्ति बन्द भएको छ भने बजार र पाउरोटी पसल (बेकरी)हरू पनि बन्द छन्।
सिरियाका अन्तरिम नेता अहमद अल-शराले शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै असद समर्थकहरूकै कारण हिंसा भड्किएको आरोप लगाए। उनले शान्ति कायम राख्न आग्रह गर्दै सरकारी सुरक्षा बललाई सर्वसाधारणलाई हानि हुन नदिन आदेश दिएका छन्।
बेलायतका सिरिया प्रतिनिधि एन स्नोले यो अवस्थालाई “गम्भीर चिन्ताजनक” बताउँदै शान्ति, जिम्मेवारी र संक्रमणकालीन न्यायको आवश्यकता रहेको बताइन्।
प्रतिक्रिया