युरोपेली आपतकालीन बैठकमा जेलेन्स्की, अमेरिकी र रूसी दबाबबीच शान्ति वार्ताको प्रयास

इनेप्लिज २०८१ फागुन २३ गते २:०८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिहीबार युरोपेली नेताहरूको आपतकालीन बैठकमा सहभागी भए। उनले रूसको आक्रमणको सामना गरिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बढ्दो राजनीतिक दबाब झेल्नु परिरहेको छ।

अमेरिकाले हालै सबै सैन्य सहायता र गुप्तचर जानकारी प्रदान गर्ने कार्य अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ। वासिङ्टनले कीभलाई रूससँग शान्ति सम्झौतामा प्रवेश गराउन दबाब दिइरहेको छ। यो निर्णय गत हप्ता ओभल अफिस(कार्यालय)मा ट्रम्प र जेलेन्स्की बीचको विवादास्पद भेटपछि आएको हो।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी गरेको बयानमा उक्त बैठकलाई “दुर्भाग्यपूर्ण” भने। उनले अमेरिका-समर्थित शान्ति प्रक्रियामा संलग्न हुन र अमेरिकी खनिज साझेदारी सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको उल्लेख गरे।

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार जेलेन्स्कीका प्रमुख अधिकारी आन्द्रिय यरमाक शान्ति वार्ताबारे छलफल गर्न मंगलबार साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँग भेट्नेछन्।

अमेरिकी तर्फबाट मध्य पूर्वका विशेष दूत स्टिभ विट्कफ,विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज* उपस्थित हुनेछन्।

युरोपेली बैठकमा जेलेन्स्कीको प्रस्ताव :

जेलेन्स्कीले युरोपेली नेताहरूलाई शान्ति स्थापनाका लागि आवश्यक कदमहरूप्रस्ताव गरे। उनले फ्रान्सका राष्ट्रपति इम्मानुएल माक्रोनद्वारा प्रस्तावित आंशिक युद्धविरामको समर्थन गर्दै रूसी र युक्रेनी सेनाहरूले ऊर्जा तथा अन्य नागरिक पूर्वाधारमाथि आक्रमण नगर्ने र कालो सागरमा सैन्य गतिविधि रोक्ने जस्ता सहमति गर्नु पर्ने बताए।

उनले युक्रेनको रक्षा क्षमता मजबुत पार्न रिआर्म युरोप योजना अन्तर्गत थप सहयोग आवश्यक रहेको बताए।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले जेलेन्स्कीलाई स्वागत गर्दै युक्रेनलाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्याए। युरोपलाई अहिले स्पष्ट खतरा छ। हामीले आफूलाई र युक्रेनलाई सुरक्षित राख्नुपर्छ,भोन डर लेयनले भनिन्।

प्रतिक्रिया