साउदी अरेबियामा अर्को हप्ता अमेरिकी र युक्रेनी अधिकारीहरूको भेट हुने

इनेप्लिज २०८१ फागुन २२ गते २३:३२ मा प्रकाशित

अमेरिकी र युक्रेनी अधिकारीहरू आगामी हप्ता साउदी अरेबियामा भेट्ने तयारीमा छन्। सिएनएनले स्रोत नखोली आफ्नो समाचारमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गत हप्ता ह्वाइट हाउसमा भएको तनावपूर्ण छलफलपछि दुई देशबीचको सम्बन्ध सुधार गर्न वार्ता आयोजना गरिएको हो।

राष्ट्रपति कार्यालयमा भएको विवादपश्चात्, अमेरिकी उच्च अधिकारीहरू सम्बन्ध सुधार्न सक्रिय छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले गत बुधबार भने, “हामी वार्ताको स्थान, प्रतिनिधिमण्डल, र छलफलको विषयवस्तुमा गम्भीर छलफल गरिरहेका छौँ। पछिल्लो २४ घण्टामा महत्वपूर्ण प्रगति भएको छ, र छिट्टै ठोस निर्णय आउनेछ।”

गत मंगलबार, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् अमेरिका प्रति आभार व्यक्त गर्दै वार्तामा बस्न तयार रहेको जनाए। उनले ओभल कार्यालय बैठकमा उत्पन्न अवस्थाप्रति खेद व्यक्त गर्दै ट्रम्पलाई समर्थनका लागि धन्यवाद दिए। साथै, उनले खनिज सम्झौतामा हस्ताक्षर गर्न पनि इच्छुक रहेको बताए।

ट्रम्पले मंगलबार कांग्रेसलाई सम्बोधन गर्दै जेलेन्स्कीको सन्देशलाई स्वागत गरे। उनले भने, म उनलाई यो पत्र पठाएकोमा धन्यवाद दिन्छु।

यो बैठकले अमेरिका-युक्रेन सम्बन्धलाई पुनः बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया