हमासद्वारा ट्रम्पको धम्कीलाई अस्वीकार ,स्थायी युद्धविराम बिना बन्धकहरू नछाड्ने घोषणा

इनेप्लिज २०८१ फागुन २२ गते १२:१७ मा प्रकाशित

हमासले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो धम्कीलाई खारेज गर्दै गाजा भूभागमा स्थायी युद्धविराम सुनिश्चित नभएसम्म बाँकी इजरायली बन्धकहरू नछाड्ने जनाएको छ।

हमासले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि जनवरीमा भएको युद्धविराम सम्झौताबाट पछि हट्ने प्रयास गरेको आरोप लगाएको छ। सो सम्झौता अनुसार दोस्रो चरणको वार्ता हुनुपर्ने थियो, जसमा बाँकी इजरायली बन्धकहरूलाई थप प्यालेस्टिनी कैदीहरूको आदान प्रदान,स्थायी युद्धविराम, र गाजाबाट इजरायली फौजहरूको फिर्तीको सर्तमा मुक्त गरिनुपर्ने थियो।

हमासका प्रवक्ता अब्देल-लतिफ अल-कानूआले भने, “बाँकी इजरायली बन्धकहरूलाई मुक्त गर्ने सबैभन्दा राम्रो उपाय भनेको यो सम्झौताको दोस्रो चरणमा वार्ता गर्नु हो। यो वार्ता फेब्रुअरीको सुरुवातमै सुरु हुनुपर्ने भए पनि अहिलेसम्म केवल सीमित प्रारम्भिक छलफलहरू मात्र भएका छन्।

बुधबार ट्रम्पले आठजना पूर्व-बन्धकहरूसँग भेट गरेपछि हमासलाई “अन्तिम चेतावनी” दिएका थिए। साथै व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरेको पुष्टि गरेको थियो, जुन पहिलो पटक भएको हो।

ट्रम्पले आफ्नो सामाजिक संजाल सोसल ट्रुथमा सबै बन्धकहरूलाई शीघ्र मुक्त गर्न , ढिलो नगर्न र हत्या गरेका सबै शवहरू फिर्ता गर्न दबाव दिएका थिए । उनले त्यसो नगरे अन्यथा तिमीहरूको लागि सबै समाप्त हुने लेखेका थिए ।

इजरायल र हमास दुवैले लामो समयदेखि आफ्नो विरोधीहरूको अवशेषलाई नियन्त्रणमा राख्ने रणनीति अपनाएका छन् ।

प्रतिक्रिया