“भारतको आक्रमणमा ५ बालबालिकासहित १० जना परिवारका सदस्य मारिए : जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरको आरोप”

इनेप्लिज २०८२ वैशाख २४ गते ११:०० मा प्रकाशित

भारतको पछिल्लो हवाई आक्रमणमा पाकिस्तानमा पाँच बालबालिकासहित १० जना एउटै परिवारका सदस्य मारिएको दाबी जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरले गरेका छन्। भारतले जैश-ए-मोहम्मदलाई निशाना बनाएको दाबी गरेपछि अजहरले आफ्नी दिदी, भिनाजु, भतिजा र भाञ्जीसमेत मारिएको बताएका हुन्।

“कायर मोदीले निर्दोष बालबालिका, अविवाहित महिलाहरू र वृद्धहरूलाई लक्षित गरे,” भन्दै अजहरले बुधबार एक वक्तव्यमा दुख व्यक्त गरे।

यता भारतले भने पाकिस्तानको पञ्जाब प्रान्त र पाकिस्तान-शासित काश्मीरमा रहेका ९ स्थानमा आतंकवादी पूर्वाधारमाथि मात्र प्रहार गरिएको र कुनै नागरिक संरचना लक्षित नगरिएको बताएको छ। भारतीय पक्षले यो कारबाहीमा कुनै नागरिक हताहत नभएको दाबी गरेको छ।

तर पाकिस्तानले भने भारतले छ स्थानमा मस्जिदलगायत नागरिक क्षेत्रहरूलाई निशाना बनाएको र सर्वसाधारण मारिएको आरोप लगाएको छ।

जैश-ए-मोहम्मद एक पाकिस्तान-आधारित सशस्त्र समूह हो जसले काश्मीरलाई पाकिस्तानसँग एकीकरण गर्ने लक्ष्य राखेको छ। सन् २००१ मा अमेरिका र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस समूहलाई आतंकवादी संगठन घोषणा गरिसकेको छ, तर चीनले मसूद अजहरलाई “अन्तर्राष्ट्रिय आतंकवादी” घोषणा गर्ने प्रस्तावमा भिटो(निषेधाधिकार) गरेको थियो।

प्रतिक्रिया