राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार मार्च ४ का दिन राती संयुक्त अधिवेशनमा सम्बोधन गर्दै सुरु मै “अमेरिका फर्किएको छ” भनी घोषणा गरे। अर्थात् अमेरिका इज ब्याक भने ।
उनले आफ्नो प्रशासनले “अमेरिकाको भाग्य हाम्रै हातमा लिन” काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै “यो हाम्रो सबैभन्दा महान युग हुनेछ” भनि प्रतिज्ञा गरे।
मुख्य घोषणाहरू :
ट्रम्पले आफ्नो सम्बोधनमा युक्रेनले दुर्लभ खनिज स्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको र रुससँगको युद्ध अन्त्य गर्न वार्ता जारी राख्ने बताएका छन्। साथै, अफगानिस्तानमा १३ अमेरिकी सैनिकको ज्यान लिने आक्रमणका लागि जिम्मेवार आतंकवादीलाई पक्राउ गरिएको जानकारी दिए।
हामीले उक्त आतङ्ककारीलाई पक्राउ गरेका छौँ। उनि अहिले अमेरिकामा आउँदैछन् र तुरुन्तै न्यायको सामना गर्नेछन् , ट्रम्पले भने।
सम्बोधनमा डेमोक्र्याटहरुबाट होहल्ला :
डेमोक्र्याट सांसदहरूले उनको सम्बोधनको सुरुवातमै होहल्ला गर्न थालेपछि रिपब्लिकनहरूले युएसएस युएसए भन्ने नारा लगाए। टेक्ससका डेमोक्र्याट सांसद अल ग्रीनले आक्रोशित हुँदै लौरो हल्लाउँदै चिच्याए, जसले गर्दा सभामुख माइक जोनसनले उनलाई हटाउन आदेश दिए।
म डेमोक्र्याटहरूको अनुहार हेर्छु, र म बुझ्छु कि म उनीहरूलाई खुसी पार्न वा ताली बजाउन कुनै पनि कुरा भन्न सक्दिन, ट्रम्पले भने।
महत्वपूर्ण नीति घोषणाहरू ;
१. सिमा सुरक्षा र आप्रवासन नीति :
ट्रम्पले अवैध आप्रवासन रोक्ने आफ्नो प्रशासनको प्रयासको तारिफ गर्दै सांसदहरूलाई सीमामा सुरक्षा कडाइ गर्न थप बजेट स्वीकृत गर्न आग्रह गरे।
लागू औषध उत्पादन संघ (कार्टेल)हरू अमेरिकाविरुद्ध युद्ध गरिरहेका छन्, अब अमेरिका कार्टेलहरूविरुद्ध युद्ध गर्ने समय आएको छ,ट्रम्पले भने।
उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निष्कासन (डिपोर्टेसन) अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गर्दै यसको लागि विस्तृत कोष अनुरोध कांग्रेसमा पठाएको बताए।
२. “गोल्ड कार्ड” अर्थात् स्वर्ण पत्र मार्फत कानूनी नागरिकता :
ट्रम्पले नयाँ कानूनी आप्रवासन नीति घोषणा गरे जसअनुसार ४ मिलियन पर्ने “गोल्ड कार्ड” अर्थात् स्वर्ण पत्र उपलब्ध गराइनेछ।
यो ग्रीन कार्ड अर्थात् स्थायी आवासीय पत्र जस्तै हो, तर अझ उत्कृष्ट र परिष्कृत भएको बताए । यी हासिल गर्ने व्यक्तिहरूले हाम्रो देशमा कर तिर्नुपर्नेछ, ट्रम्पले भने।
३. महँगी नियन्त्रण :
ट्रम्पले बाइडेन प्रशासनलाई आर्थिक संकटको दोष दिँदै आफूले अमेरिकी अर्थतन्त्रलाई पुनः सुधार गर्ने वाचा गरे। मेरो प्राथमिक उद्देश्य अमेरिकालाई फेरि सुलभ बनाउने हो। उपभोक्ता मूल्य सूचकांकअनुसार बाइडेन प्रशासनमा उपभोक्ता मूल्यहरू झण्डै २०% ले वृद्धि भएका छन् भने अण्डाको मूल्य ३७% ले बढेको छ।
४. अन्तर्राष्ट्रिय व्यापार र आयात कर नीति :
ट्रम्पले मेक्सिको, क्यानडा र चीनबाट आउने आयातित सामानहरूमा भन्सार कर वृद्धि गर्ने आफ्नो प्रशासनको निर्णयको बचाउ गरे।
यसको प्रतिक्रियास्वरूप क्यानडाले १०० अर्बभन्दा बढी अमेरिकी सामानहरूमा भन्सार कर लगाउने घोषणा गरेको छ भने मेक्सिकोले आफ्नै बदलाको कार आइतबार घोषणा गर्ने बताएको छ।
रूस-युक्रेन युद्ध अन्त्य गर्न पहल :
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार ट्रम्पको सम्बोधन अघि युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका थिए। ट्रम्पले जेलेन्स्कीको पत्र प्राप्त भएको खुलासा गर्दै भने यो निरर्थक युद्ध अन्त्य गर्ने समय आएको बताए ।
त्यसैगरी, उनले अमेरिका स्वयंलाई रक्षा गर्न इजरायलको “आयरन डोम” जस्तै “गोल्डेन डोम” सुरक्षा प्रणाली निर्माण गर्ने योजना रहेको बताए।
ट्रम्पको सम्बोधनमा उनको प्रशासनका नीति, सुरक्षा, आप्रवासन, अर्थतन्त्र, र अन्तर्राष्ट्रिय सम्बन्धमा महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरिए। उनका समर्थकहरूले भाषणको मुक्त कण्ठले प्रशंसा गरे भने डेमोक्र्याटहरुले आलोचना गरि रहे ।
प्रतिक्रिया