युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी समर्थनका लागि धन्यवाद दिएका छन् । र ,उनले ‘वास्तविक शान्ति’ को लागि आह्वान गरे । तर उनले सुरक्षा ग्यारेन्टी बिना शान्ति सम्भव नहुने बताए।
उता क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले भने उहाँ (जेलेन्स्की) शान्ति चाहनुहुन्न। कसैले उहाँलाई शान्ति चाहन बाध्य पार्नुपर्छ । रुसले आक्रमण जारी राखेको छ ,तर पनि तीन वर्षदेखि युद्धको दोष युक्रेनलाई लगाउँदै आएको छ।
जेलेन्स्कीले आफ्नो पछिल्लो कूटनीतिक पहललाई एक लामो प्रक्रिया भएको बताए, जसले अन्ततः शान्ति सम्झौतामा परिणत हुन सक्छ। “आगामी दिनहरू र हप्ताहरूमा धेरै बैठकहरू र संयुक्त प्रयासहरू हुनेछन्,” उनले राष्ट्रपतिको संजालस्थल (वेबसाइट)मा एक श्रब्यदृश्य (भिडियो )सन्देशमा भने।
“शान्तिका लागि कूटनीति हुनेछ,” । “र ,हाम्रो सबैका लागि – युक्रेन, सम्पूर्ण युरोप, र अवश्य पनि अमेरिका – एकसाथ उभिनु आवश्यक छ।”
सोमबार, जेलेन्स्कीले रुसका लामो दूरीका क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन) हमलापछि प्रतिक्रिया जनाउँदै टेलिग्राममा लेखे, “युक्रेन आफ्नो सामान्य र सुरक्षित जीवनका लागि लड्दैछ, जुन न्यायसंगत र भरपर्दो शान्तिका लागि आवश्यक छ। हामी यो युद्ध समाप्त गर्न चाहन्छौं। तर रुस चाहँदैन र आफ्नो हवाई आतंकलाई निरन्तरता दिइरहेको छ।”
रुसलाई आक्रमण रोक्न बाध्य पार्न हामीलाई विश्वको संयुक्त बल आवश्यक छ ,उनले भने । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्ससँगको तनावपूर्ण भेटमा युक्रेन र अमेरिकी दृष्टिकोण बीचको मतभेद भयो । तर ट्रम्पले बारम्बार युक्रेनलाई नै दोष दिने गरेका छन् ।
रुसी अधिकारीहरूले उक्त असफल बैठकको स्वागत गरेका छन् । जेलेन्स्कीले अमेरिकाको महत्त्वबारे जोड दिँदै भने, “हामी अमेरिकाको महत्त्व बुझ्छौं, र हामीले अमेरिकाबाट पाएको सबै समर्थनको लागि आभारी छौं। हरेक दिन हामीले कृतज्ञता महसुस गरेका छौ । किनभने यो हाम्रो स्वतन्त्रताको रक्षा गरेको सहयोगको लागि कृतज्ञता हो।”
हामीलाई शान्ति चाहिन्छ, अन्तहीन युद्ध होइन। सुरक्षा प्रत्याभूति नै यसका लागि प्रमुख तत्व हो ,उनले थपे ।
आइतबार लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनमा जेलेन्स्की सहभागी भए। बेलायती प्रधानमन्त्री कियर स्टारमरले ट्रम्प र फ्रेन्च राष्ट्रपति इम्यानुएल माक्रोंसँग सहमति जनाउँदै भने ,बेलायत र फ्रान्सले युक्रेनका लागि एउटा शान्ति योजना बनाउन सघाउनेछन्, जुन पछि अमेरिकालाई प्रस्तुत गरिनेछ।
स्टारमरले सहायता निरन्तर प्रदान गर्ने, रुसमाथि आर्थिक दबाब कायम राख्ने, युक्रेनको सम्प्रभुता सुनिश्चित गर्ने, र कुनै पनि शान्ति सम्झौतामा कीभलाई अनिवार्य रूपमा सहभागी गराउने प्रस्ताव अघि सारे।
यदि सम्झौता हुन्छ भने उनले युक्रेनलाई सैन्य सहायता जारी राख्ने प्रतिवद्धता जनाए । साथै, उनले “इच्छुक राष्ट्रहरूको गठबन्धन” गठन गरेर युक्रेनको रक्षा गर्न सघाउने बताए।
प्रतिक्रिया