अमेरिकी विदेश बिभागले १०,००० भन्दा बढी विदेशी सहायता अनुदानहरू कटौती गर्ने

इनेप्लिज २०८१ फागुन १५ गते १२:१७ मा प्रकाशित

अमेरिकी विदेशसचिव मार्को रुबियोले विदेश बिभाग र अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी) द्वारा प्रदान गरिएका विदेशी सहायता अनुदानहरूको समीक्षा सम्पन्न गरेका छन्।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, सरकारले झन्डै १०,००० सहायता अनुदानहरू स्थायी रूपमा अन्त्य गर्ने निर्णय गरेको छ।

समीक्षा अनुसार ५,८०० भन्दा बढी युएसएआइडी अनुदानहरू र ४,१०० भन्दा बढी विदेश बिभागका अनुदानहरू रद्ध गरिने छन्। तर ५०० युएसएआइडी अनुदान र २,७०० विदेश बिभागका अनुदान कायम राखिने भएका छन्।

यो निर्णय १.९ बिलियन डलर बराबरको विदेशी सहायता रोक्का गर्ने मुद्दा सम्बन्धी अदालती सुनुवाइको क्रममा सार्वजनिक गरिएको थियो। प्रतिवेदनअनुसार २४ देखि ४८ घण्टाभित्र सहायता अन्त्य गर्ने प्रक्रिया पूरा गरिनेछ।

यसबारे जानकार तीन अधिकारीहरूले एबिसीन्यूजलाई दिएको जानकारीअनुसार, दस्तावेजमा उल्लेखित सहायता कटौतीको संख्या सही छ। तर, केही अधिकारीहरूले यो समीक्षा प्रक्रिया पहिले नै तय गरिएको योजनाको भाग मात्र हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यस कटौतीपछि, अमेरिकी सरकारले अन्तर्राष्ट्रिय सहायता नीतिमा महत्त्वपूर्ण परिवर्तन ल्याउने संकेत देखाएको छ। सहायता कटौतीको प्रभाव विश्वभरि पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया