डेल्टा विमानसेवामा धॅुवा देखिए पछि आकस्मिक रूपमा  एटलान्टा विमानस्थलमा फिर्ता जान बाध्य 

इनेप्लिज २०८१ फागुन १२ गते २०:१८ मा प्रकाशित

अमेरिकाको डेल्टा एयरलाइन्स( विमान सेवा) एक उडान सोमबार आकस्मिक रूपमा हर्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता जान बाध्य भयो। 

आज बिहान डेल्टा एयर लाइन्सको बोइंग ७१७-२०० विमान ९४ यात्रु र पाँच चालक दलका सदस्यहरू लिएर हिडेको विमान हर्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न बाध्य भएको फक्सन्यूजले जनाएको छ ।

विमानको केबिनमा धुवाँ देखिएपछि सबैलाई आपतकालीन चिप्लेटीको माध्यमबाट सुरक्षित रूपमा बाहिर निकालियो । उक्त विमान साउथ क्यारोलाइना गै रहेको थियो ।

दुई दिनअघि, अर्को डेल्टा उडान केबिनमा धुवाँ देखिएपछि लस एन्जलसमा आकस्मिक अवतरण गरेको थियो। 

त्यसैगरी गत हप्ता टोरन्टो पिअर्सन विमानस्थलमा एउटा डेल्टा विमान अवतरणपछि उल्टो पल्टिएको र आगलागी भएको थियो तर सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेका थिए।  

एयरलाइन्सका प्रवक्ताका अनुसार विमान आकाशमा उडिसकेपछि अचानक केबिनभित्र अनपेक्षित रूपमा “धुवाँजस्तो कुहिरो” फैलन थाल्यो, जसले यात्रुहरू र चालक दलका सदस्यहरूलाई असहज महसुस गरायो।

सुरक्षा नियमअनुसार  विमानलाई सुरक्षित रूपमा फिर्ता लैजानु परेको र विमानस्थलमा आपत्कालीन टोलीहरू तैनाथ गरिएका थिए । 

विमानसेवाले घटनाबारे पूर्ण रूपमा अनुसन्धान गरिरहेको बताएको छ । डेल्टाले यात्रुहरूको असुविधाका लागि क्षमायाचनासमेत गरेको छ।

प्रतिक्रिया