अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडि ) ले अल-कायदा आतङ्ककारी अन्वर अल-अवलाकीलाई कोलोराडो राज्य बिश्वबिद्यालय (स्टेट युनिभर्सिटी)मा अध्ययन गर्न “पूर्ण वित्तीय सहायता” प्रदान गरेको नयाँ कागजात सार्वजनिक भएको छ।
अन्वर अल-अवलाकी अमेरिकामा जन्मिएका जिहादी थिए, जसलाई २०११ मा ओबामा प्रशासनको दौरान यमनमा मानव रहित यान (ड्रोन )हमलाबाट मारिएका थिए । फक्सन्यूजका अनुसार उनी अल-कायदाका प्रमुख सदस्यहरूमध्ये एक थिए र २००९ मा टेक्ससको फोर्ट हुडमा १३ जनाको ज्यान जाने गोलीकाण्डका योजनाकारहरूसँग प्रत्यक्ष सम्पर्कमा थिए।
अल-अवलाकीको जन्म लास क्रुसेस न्यू मेक्सिकोमा १९७१ मा भएको थियो। उनी अमेरिका र यमन दुबैमा हुर्केका थिए।
सामाजिक सञ्जालमा व्यापक (भाइरल )भएको १९९० को युएसएआइडिको आवेदन पत्र( फारम)अनुसार अवलाकीले आफू यमनी नागरिक भएको झूटो दाबी गर्दै विदेशी छात्रवृत्तिका लागि आवेदन दिएका थिए। कागजातमा उनको जन्मस्थान सान’आ, यमन भनेर गलत रूपमा उल्लेख गरिएको छ, जुन पछि उनले अमेरिकी अधिकारीहरूको सल्लाहमा जानीजानी दिएको खुलासा गरेका थिए।
यस खुलासासँगै युएसएआईडिको वित्तीय पारदर्शिता र अनुगमनबारे गम्भीर प्रश्न उठेका छन्। संघीय सरकारका अनियमित खर्च छानबिन गर्ने सरकार दक्षता विभागले युएसएआईडिको वित्त पोषणबारे अनुसन्धान गरिरहेको छ। रिपब्लिकन सांसदहरूले युएसएआइडिले विगतमा विवादास्पद परियोजनाहरूमा अत्यधिक रकम खर्च गरेको आरोप लगाएका छन्।
फक्सन्यूजले प्रकाशित गरेको समाचार अनुसार ओबामा प्रशासनले सन् २०१० मा अवलाकीलाई पक्राउ वा मार्ने आदेश दिएको थियो। अन्ततः, ३० सेप्टेम्बर २०११ मा मानवरहित यान (ड्रोन )हमलाबाट उनलाई मारिएको थियो। राष्ट्रपति ओबामाले यसलाई “अल-कायदाविरुद्धको महत्वपूर्ण सफलता” भनेका थिए।
युएसएआइडि को वित्तीय अनियमितता उजागर भइरहेका बेला, ट्रम्प प्रशासनले यस निकायका १३ हजार बिश्वब्यापी कर्मचारी हटाएर ३०० भन्दा कम गर्ने आदेश समेत दिएको छ । र ,यो निकायलाई भंग गर्ने समेत प्रयास गरेको थियो। फेब्रुअरी ७ मा युएसएआइडिको आधिकारिक संजालस्थल (वेबसाइट )अस्थायी रूपमा बन्द गरिएको थियो। एक संघीय न्यायाधीशले फेब्रुअरी १४ सम्मका लागि ट्रम्प प्रशासनको योजना रोक्ने आदेश दिएका छन्।
प्रतिक्रिया