ट्रम्पद्वारा बाइडेनको सुरक्षा अनुमति (सेक्युरिटी क्लियरन्स) र दैनिक गुप्तचर (इन्टेलिजेन्स) सूचनाहरू बन्द गर्ने निर्णय

इनेप्लिज २०८१ माघ २६ गते ०:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पूर्वराष्ट्रपति जो बाइडेनको सुरक्षा अनुमति (सुरक्षा क्लियरन्स) र दैनिक गुप्तचर (इन्टेलिजेन्स) ब्रीफिङहरू बन्द गर्ने निर्णय गरेका छन्।

ट्रम्पले यो कदम उचित ठहर्‍याउँदै भने कि २०२१ मा बाइडेनले एक नजिर स्थापित गरेका थिए, जसमा उनले गुप्तचर समुदायलाई ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी उपलब्ध नगराउन निर्देशन दिएका थिए।

ट्रम्पका अनुसार यो परम्परा विगतका पूर्वराष्ट्रपतिहरूलाई प्रदान गरिने सम्मान भए तापनि बाइडेनले उनलाई त्यस्तो पहुँचबाट वञ्चित गरेका थिए।

ट्रम्पले यो निर्णय गर्नुको अर्को कारण विशेष सल्लाहकारको एक प्रतिवेदनमा बाइडेनलाई “सद्भावना राख्ने तर कम स्मरणशक्ति भएका वृद्ध व्यक्ति” भनेर वर्णन गरिएको थियो। ट्रम्पका अनुसार यस्तो स्मरणशक्ति भएका व्यक्तिलाई संवेदनशील जानकारी दिनु खतरा हुन सक्छ।

यसअघि पनि ट्रम्प प्रशासनले उनीहरूका विरोधीहरूमाथि सुरक्षा अनुमति खारेज गर्ने कदमहरू चालेको थियो । विशेष गरी केही समयअघि मात्र ट्रम्पले एउटा कार्यकारी आदेशमार्फत ५१ जना पूर्वगुप्तचर अधिकारीहरूको सुरक्षा अनुमति खारेज गरेका थिए। ती अधिकारीहरूले २०२० मा हन्टर बाइडेनको काखे सुसांख्य यन्त्र (ल्यापटप)सम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए, जसमा उक्त काखे सुसांख्य यन्त्र )ल्यापटप)का बिधुतिय डाक (ईमेल)हरू रुसी प्रचारको हिस्सा हुन सक्ने बताइएको थियो।

संयुक्त राज्य अमेरीकाका वर्तमान राष्ट्रपतिले संवेदनशील जानकारी पहुँच दिने वा रोक्ने अधिकार राख्छन्। सामान्यतया पूर्वराष्ट्रपतिहरूलाई सम्मानको रूपमा सुरक्षा अनुमति (क्लियरन्स )र गुप्तचर जानकारी दिन्छ, तर यो कुनै कानुनी बाध्यता नभएको एपी/रोयटर्सले समेत लेखेका छन् ।

प्रतिक्रिया