सान फ्रान्सिस्कोमा ५ दिने कन्सुलर राहदानी शिविर शुरु ,जनवरी २२-२६ सम्म चल्ने

इनेप्लिज २०८१ माघ १२ गते ११:१८ मा प्रकाशित

ईश्वरी न्यौपाने

नेपाली राजदूताबास वासिङटन डिसिको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर राहदानी शिविर शुरु भएको छ ।

नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैर आवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा यो ५ दिने शिविर सञ्चालन भएको हो । डिसीबाट ६ घण्टाको हवाई दुरीमा रहेको सान् फ्रान्सिस्कोमा जनवरी १४ मा खुला गरिएको राहदानी नविकरणको आवेदन २ घण्टमा भरिएको थियो ।

५ दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दुताबासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिनुभयो ।

‘दुताबासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठीक गरियो भन्ने लागेको छ’ आरणले संक्षिप्त उदघाटनका क्रममा भन्नुभयो । घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको उहाँको भनाई थियो ।

स्थानीय आयोजकको सहयोग एवं प्रयासबाट दुताबासले यहाँ सेवा दिन संभव भएको उहाँले बताउनुभयो । राहदानी नविकरणका लागि खोलिएको समय दुई घण्टामै सकिएको उल्लेख गर्दै अझै पनि सेवा ग्राही सयौं भएको हुनाले शिविरको समय थप हुने जानकारी उहाँले दिनुभयो । स्थानीयको अनुरोधलाई ध्यान दिंदै दुई, तीन थपेर भएपनि सेवा दिने जानकारी दिनुभयो । ‘सबैलाई सेवा पु¥याउन परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन छ’ आरणले भन्नुभयो– ‘यहाँको कठिनाई संवोधन गर्न दूताबासको टीम प्रतिबद्ध छ ।’

त्यस्तै क्यालिफोर्नियाका अवैतनिक महा वाणिज्य दुत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूताबासले शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । यसअघि लस एञ्जलसमा भएको शिविरमा पनि सान् फ्रान्सिस्कोबाट राहादीका लागि मानिस पुगेको उल्लेख गर्दै शिविरबाट धेरैलाई लाभ पुगेको बताउनुभयो ।

स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गर्नु भएको थियो । यसअघि सन् २०२२ को नोभेम्वरमा भएको शिविरमा ७ सय ४६ ले सेवा पाएको जानकारी दिंदै दुताबासमार्फत सरकारलाई धन्यवाद दिनुभयो ।

त्यस्तै अर्का आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले दुताबास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गर्नुभयो ।राहदानीका साथै वारेसनामा लगायतको सेवा पनि सुचारु भईरहेको छ ।

शिविरको पहिलो दिन २ सय जनाले सेवा लिएका थिए भने आइतबार जनवरी २६ मा सेवा समापन हुनेछ ।

प्रतिक्रिया