न्यूयोर्क प्रहरी विभागमा यौन दुर्व्यवहारको आरोप ,उच्च श्रेणीका अधिकारीद्वारा राजिनामा

इनेप्लिज २०८१ पुष ६ गते २३:१७ मा प्रकाशित

न्यूयोर्क प्रहरी विभाग अर्को यौन दुर्व्यवहार काण्डमा फसेको छ । एक उच्च श्रेणीका अधिकारी अनुसन्धानको घेरामा परेका छन् । एक उच्च श्रेणीका प्रहरी अधिकारी जेफ्री म्याड्री अनुसन्धानमा रहेका छन् ।

एबिसीन्यूजका अनुसार देशको सबैभन्दा ठूलो प्रहरी विभागका उच्च श्रेणीका अधिकारी म्याड्री विवादमा फसेका छन्। गत शुक्रबार राति वर्दीधारी म्याड्रीले यौन दुर्व्यवहारको आरोपको सामना गरेपछि अचानक राजीनामा दिए।

तल्लो म्यानह्याटनको प्रहरी मुख्यालयमा रहेका म्याड्रीले अतिरिक्त समय (ओभरटाइम)को स्वीकृतिको बदलामा यौन अनुग्रहको माग गरेको आरोप लगाईएको छ ।

“प्रहरी आयुक्त जेसिका एस. टिशले शुक्रबार राति विभाग प्रमुख जेफ्री म्याड्रीको राजीनामा स्वीकृत गरिन । न्यूयोर्क प्रहरी विभागलेले यौन दुर्व्यवहारका सबै आरोपहरूलाई गम्भीरताका साथ लिन्छ, र यस विषयमा राम्ररी अनुसन्धान गर्नेछ,” एक विज्ञप्तिमा भनिएको छ ।

म्यानह्याटन जिल्ला सरकारी वकिलको कार्यालयले म्याड्री विरुद्धको आरोपको अनुसन्धान गरिरहेको बताएको छ। नगर प्रमुख कार्यालयका प्रवक्ताले शनिबार भने, “हामी यी आरोपहरूबाट अत्यन्तै गहिरो विचलित भएका छौं । एनवाईपिडीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

नगर प्रमुख एडम्सले प्रहरी आयुक्त टिशसँग नजिकको समन्वयमा काम गरिरहेका छन् । एबिसीन्यूजका अनुसार म्याड्रेले यसअघि यौन उत्पीडन र लैङ्गिक भेदभावको आरोपको सामना गरिसकेका छन्, जसलाई उनले अस्वीकार गरेका छन्।

साथै न्यूयोर्कका नगर प्रमुख ६४ वर्षीय एडम्सलाई सेप्टेम्बरमा संघीय भ्रष्टाचारको आरोपमा अभियोग लगाइएको छ । उनले आफू दोषी नभएको र कुनै गलत काम नगरेको बताएका छन् । उनी अभियोगमा अप्रिल २०२५ मा मुद्दा चल्नेछन्।

प्रतिक्रिया