रौतहट÷बज्जिका भाषामा पहिलोपटक दुई प्रतियोगिता सिंगारवनमा संचालन गरिएको छ । रौतहटको गढीमाई नगरपालिका ६ सिंगारवनमा बज्जिका विकास केन्द्र नेपाल र बज्जिका एफएम माधोपुरको संयुक्त आयोजनामा हाजिरीजबाफ तथा वक्तृत्वकला प्रतियोगिताको आयोजन भएको हो ।
हाजिरीजबाफ प्रतियोगितामा अनमोल यादवको नेतृत्वमा रहेको काली समूहका अभिषेक यादव, विभा यादव, रंजित यादव, निखिल यादवले प्रथम, सुनिल यादवको नेतृत्वमा रहेको सरस्वती समूहका अर्चना यादव, अनिश यादव, अनोज यादव र अमित यादवले दोस्रो र कृष यादवको नेतृत्वमा रहेको जग्दम्बा समूहका घनश्याम ठाकुर, मदन यादव, विजय यादवले तेस्रो स्थान प्राप्त गरेका हुन् ।
प्रतियोगितामा कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाहरुको ६ ओटा समूह सहभागी थियो ।
यसै गरी वक्तृत्वकला प्रतियोगितामा सहभागी १२ जनामध्ये अभिषेक यादव प्रथम, अनिष यादव दोस्रो र काजल यादवले तेस्रो स्थान प्राप्त गरेका छन् ।
बज्जिका एफएमका प्रवन्धक दिनेश यादव संगमको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श आविका प्रधानाध्यापक केदार यादव, मावि वीरनगराका प्रधानाध्यापक मुकेश यादव, आईविए स्कुल गौरका प्रधानाध्यपक संतोष पौडेल, रौतहटटुडेका पत्रकार जितेन्द्र दास, पत्रकार ओमप्रकाश यादव, बज्ज्किा एफएम अध्यक्ष राहुलकुमार पाण्डेय, रेड टिभिका चंचन पटेल, राजन झासहित स्थानीय ग्रामवासीको उपस्थिति रहेको थियो ।
उत्साहपूर्ण वातावरणमा भएको कार्यक्रमबाट गाउँका बालबालिकाको प्रतिभाको विकास गर्ने र पुरस्कृत गरी उत्साह बढाउने उद्देश्य राखिएको थियो । कार्यक्रमले स्थानीय बालबालिकाको आत्मबल वृद्धि भएको तथा मातृभाषा बज्जिकामा सार्वजनिक कार्यक्रममा मन्तव्य राख्न सक्षम बनाउन सहयोग पुगेको आयोजकको दाबी छ । आयोजकले विजेताहरूलाई मेडलसहित विभिन्न पुरस्कार प्रदान गरेका बज्जिका एफएमका प्रबन्धक दिनेश यादव संगमले जानकारी गराएका छन् ।
प्रतिक्रिया