नेपाल अधिराज्यभरि लक्ष्मी पूजा सम्पन्न भएको छ । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइएको छ ।
आजको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहि आएको छ । यसै विश्वासका कारण आज घरघरमा दीपमालिका सहित दीपावली गरिएको छ । नेपालका अधिकांश घरको मूलद्वार तथा आँगनमा रंगोली बनाउनको साथै घरमा झिलीमिली बनाईएको छ ।
साथै बालबालिका सहित वयस्कहरुले समेत पटका ,झिरझिरे तथा आतिशबाज आदी प्रयोग गरि लक्ष्मी पूजा मनाएका छन् । नेपालमा आजै बिहान कुकुर तिहार समेत भएकोले कुकुर तिहार मनाएर लक्ष्मी पूजा सम्पन्न गरेका छन् ।
घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अंकित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।
१९६६ कात्तिक कृष्ण औँसी अर्थात् आजैका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उनको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।
प्रतिक्रिया