नेपालमा राष्ट्रपति र प्रधानमन्त्री लगायत सर्वसाधारणद्वारा टीका ग्रहण ,अमेरिकामा अब केही घण्टामा सुरु हुने

इनेप्लिज २०८१ असोज २६ गते १०:२३ मा प्रकाशित

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गत दशौ दिन आज आश्विन २६ गते विजयादशमीको टीका ग्रहण सुरु भएको छ ।

नेपालमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका जमरा थापी मनाइँदैछ । अमेरिकामा केही घण्टा पछि यसरी नै मनाइने छ । नेपालमा आज ११ बजेर ३६ मिनेटको लागि विशेष साइतमा टीका ग्रहण गरियो ।

आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिने भएकोले आफ्ना मान्यजनहरु र ठूलाबडासँग टीका ग्रहण गर्न जाने क्रम जारी रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएका छन् । शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका थिए।

दशैको उपलक्ष्यमा दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३:३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेकोले टीका लगाईदिने क्रम जारी रहेको छ । टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ ।

आज बिहान ११ः३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तको जाने क्रम जारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट र गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अमेरिकामा आज शनिबार अक्टोबर १२ को दिन छुट्टि परेकोले यस बर्ष अधिकांश नेपाली समुदायले समय मै टीका लगाउन पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ रहेको छ । यसै गरि न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, टेक्सस, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५,वासिङ्टन डिसी, अमेरिकाका लागि बिहान ०९:५५ तथा क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजे बिहानको समय शुभ रहेको समितिले जनाएको छ ।

अमेरिकामा अहिले अधिकांश नेपाली समुदायमा ३ पुस्तेहरु रहने भएकोले हजुरबुवा तथा हजुरआमाले नाति नातिनीहरुलाई समेत टीका लगाई दिने र छोराछोरी नाति नातिनीले टीका ग्रहण गर्नेछन् ।

प्रतिक्रिया