गुआम टापुमा बी-२ स्टिल्थ बमवर्षक विमानहरूको तैनाथी; लाल सागरमा हुथीको अमेरिकी जहाजलाई चेतावनी

इनेप्लिज २०८२ असार ७ गते १९:३२ मा प्रकाशित

मध्यपूर्वमा जारी तनाव र इरान-इजरायल युद्धको बढ्दो परिस्थितिका बीच संयुक्त राज्य अमेरिकाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने गुआम टापुमा बहुसंख्यक बी-२ स्टिल्थ बमवर्षक विमानहरू पठाएको छ। एबिसीन्यूजलाई दुई स्रोतले यसको पुष्टि गर्दै हालसम्म यी विमानहरूका लागि गुआमभन्दा पर कुनै आदेश नभएको बताएका छन्।

यो तैनाथीले इरानमा सम्भावित अमेरिकी सैन्य संलग्नताको संकेत गरेको छ। बी-२ बम्बरहरूले जीबियु-५७ “बङ्कर बस्टर” आश्रय भेदी बम लगायतका शक्तिशाली हतियार बोक्न सक्छन्, जुन इरानका गहिरो भूमिगत आणविक सुविधाहरूलाई लक्षित गर्न सक्ने क्षमता राख्छ।

गोप्य रूपमा परिचालित यी अत्याधुनिक बमबर्षकहरू अमेरिकाको रणनीतिक तयारीको हिस्सा मानिएको छ ।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले संयुक्त राज्य अमेरिकाले इरानमा आक्रमण गरेमा लाल सागरमा रहेका अमेरिकी जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्। शनिबार जारी गरिएको एक विज्ञप्तिमा हुथीहरूले भनेका छन्, “यदि अमेरिका इजरायली शत्रुसँग मिलेर इरानमा आक्रमण र आक्रामकतामा संलग्न भयो भने सशस्त्र बलहरूले लाल सागरमा रहेका उसका जहाज र युद्धपोतहरूलाई निशाना बनाउनेछन्।”

एबिसीले जनाए अनुसार गुआमतर्फ आठ वटा इन्धन भर्ने ट्यांकर विमानले ओक्लाहोमाबाट उडान भरेर मिजोरी , क्यान्सस , कोलोराडो र न्यू मेक्सिकोमाथिबाट घुमेर फेरि सोही आधारमा फर्किएका थिए। यसका अतिरिक्त, शनिबार बिहान हवाईबाट थप तीन तेल भर्ने विमानले पनि उडान भरेका थिए । शनिबार बिहान १०:२० बजे हवाईबाट तीन इन्धन भर्ने बिमानहरू छुटेका थिए।

प्रतिक्रिया