असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज आश्विन २६ गते विजयादशमी नेपालमा मनाइदै छ । अमेरिकामा अक्टोबर ११ शक्रबार राती पर्ने भएकोले भोलि बिहान अर्थात् अक्टोबर १२ तारिख शनिबारका दिन दशैँ मनाइदै छ । नेपालमा आजको दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ।
मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ भने अमेरिकामा भोलि यसरी नै मनाइने छ । नेपालमा आज ११ बजेर ३६ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ। तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ भनिएको छ । त्यसैले अमेरिकामा पनि त्यसै गरि मनाइने तयारीमा नेपाली समुदाय रहेका छन् ।
अमेरिकामा भोलि अक्टोबर १२ तारिख शनिबारको दिन छुट्टि परेकोले यस बर्ष अधिकांश नेपाली समुदायले समय मै टीका लगाउन पाउने छन् । नेपालमा आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ।
घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।
टीका लगाइ माग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । यसै गरि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ रहेको छ । यसै गरि न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, टेक्सस, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५,वासिङ्टन डिसी, अमेरिकाका लागि बिहान ०९:५५ तथा क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजे बिहानको समय शुभ रहेको समितिले जनाएको छ ।
अमेरिकामा आज महा नवमीमा नेपाली समुदायहरु बिभिन्न मठमन्दिर गै दर्शन गरेका छन् । त्यस्तै बिभिन्न मन्दिरहरुमा आरती गरिनुको साथै भजनकृतन समेत गरिएको छ । अमेरिकामा अहिले अधिकांश नेपाली समुदायमा ३ पुस्तेहरु रहने भएकोले हजुरबुवा तथा हजुरआमाले नाति नातिनीहरुलाई समेत टीका लगाई दिन्छन ।
प्रतिक्रिया