राधा पौडेल,हाल : नर्थ क्यारोलाइना ,अमेरिका
“आमा मेरो साथी लक्ष्मी र निर्मलाको त दशैंलाई बुट्टे फराक (फ्रक) किनी सके अरे हाम्रो कैले किन्ने हो ?”
“बाले पैसाको जोहो गरेपछि किन्ने त भनेकै छ नि !” आमाले अलि तन्किएर भन्नुभयो।
अनि मैले फेरी थपें ” यसपाली त हामीलाई छुट्टा छुट्टै लुगा किन्दिन भन्नु न है बालाई ?” सधैं एउटै लुगा लाउँदा लाउँदा हामी त वाक्कै भइसक्यौं । प्रत्येक बर्ष बाले मलाई, भाइलाई र बहिनीलाई एउटै थानका कपडा किनिदिनुहुन्थ्यो अनि हाम्रो घर नजिकै को कान्छा दाईलाई (मिनबहादुर) सिलाउन दिनुहुन्थ्यो । हामीलाई भने एउटै कपडा लाउन मनै पर्दैनथ्यो , तर के गर्ने बा को अगाडि कोहि बोल्न सक्ने हैन । हरी बाजे भनेपछि गाउँका ठुला मान्छे त डराउँथे, हामी केटाकेटीको के कुरा ? आमा पनि डराउनु हुन्थ्यो त्यै भएर त होला हामीले भनेको कुरा पट्टी ध्यानै नदिएर “मैले किन्ने हैन क्यारे तेरै बा लाई भन् न ” भनेर पन्छिन खोज्नु भएको थियो ।
तर बा सँग कसले भन्ने ? लुगा ल्याएको बेला २, ४ दिन अमिलो मन् बनायो अनि लुगा पुरानो हुँदै गएपछि बिर्संदै गयो । यस्तै गरेर हाम्रो रहरहरु जन्मँदै मर्दै गरिरहेका थिए । हाम्रो बा भने “म छउन्जेल मेरा छोरा र छोरीलाई कहिल्यै फरक गर्दिन ” भन्दै खेल्ने भकुण्डो देखि पढ्ने , लेख्ने सामग्री जस्तै फुन्टिन (पेन ), ज्यामिति बक्स सबै एउटै बनाई दिनु हुन्थ्यो । अरु त के कुरा हामीले जुत्ता , चप्पल त साइजले चिन्नु पर्थ्यो ।
हुन पनि हाम्रो टाउकाको रिबन र भाइको टोपी बाहेक हाम्रा भित्र लगाउने धर्के कट्टु देखि सुरुवाल ,सर्ट, पाइन्ट , जुत्ता मोजा सबै एउटै हुन्थे । सानो हुँदा र नबुझ्दा सम्म त ठिकै थियो हामी अलि ठूलो हुँदै गएपछि भने त्यो कुरा हामीलाई मन् परेको थिएन । त्यसै माथि कहिले काहीँ साथीले पनि गिज्याउ थालेका थिए ।
ठ्याकै वर्ष त याद भएन तर हाम्रो सरकारी स्कुलमा पहिलो पटक ड्रेस आएको वर्षको कुरा हो । गाउँ भरिका दिदी भाइ नीलो आकासे रंगको सर्ट र गाढा नीलो पाइन्ट लगाएर हिंड्न थालेका थिए । बा ले हामीलाई फेरि एउटै बनाइदिनु भएको थियो । तर त्यो बेला भने हामी दुखी भएनौं अनि हामीलाई गिज्याउने पनि कोही भएनन् ।
हामीले स्कुलको नयाँ ड्रेस लगाउन थालेकै केही महिना पछि दशैं आउँदै थियो । पहिले पहिलेको दशैंमा जस्तै यो पालिको दशैंमा पनि बाले लुगा ल्याउनु हुने कुरा चल्दै थियो । हाम्रो बा दशैं शुरु हुनु भन्दा पहिले र तोरी बेचेको बेला खै कुन्नि किन हो ? नारायणगढ बजारको भिमलाल, भारतलाल साहुको कपडा पसलमा जानुहुन्थ्यो । अनि बा नारायणगढ बाट आए पछि अर्को पल्ट हामी किनमेल गर्न जान्थ्यौं । यो कुरा मैले बा सँग हिंड्दा था पाको ।
यो पटक पनि बा ले मलाई सोध्नु भयो ” तँ पनि बजार जान्छेस् ? ” जाने भए हिँड । म खुशी हुँदै बा को साइकल पछाडि दुई खुट्टा फिट्ट पारेर बसिहालें । जिरौंना देखि नारायणगढ पुग्दा सम्म आफुलाई र भाइ बैनीलाई रोज्ने कपडा मेरो मनमा आइसकेको थियो । त्यसै माथि बाले बाटामा तँलाई कुन रंग मनपर्छ नि ? भनेर सोध्नु भएको थियो । मैले फ्याट्ट उत्तर दिएकी थिएँ “रातो ” । अनि बाले फेरी थप्नु भएको थियो “अस्ति किनेको स्कुलको ड्रेस नयाँ नै छ दशैँले गर्दा फेरी अर्को नयाँ लुगा लाउन पायौं । यति सुनेपछि दशैंका लुगा छुट्टा ,छुट्टै लाउन पाउने कुरामा म ढुक्क थिएँ ।
करिब १२ बजेको थियो होला हामी बाउ-छोरी कपडा पसल पुग्यौँ । शाहुजीले चिया मगाउनु भयो र बालाई दिनुभयो । बाले खाए पछि गिलासको पिंदमा थोरै राखेर मलाई पनि दिनुभयो। मैले त्यो चिया एकै घुट्कोमा पिएर मुख भित्रै कुचु कुचु गरेर खेलाउँदै थिएँ ।
बा ले चाहिँ चिया सकेपछि सेतो तन्नाले मोरेको बिछ्यौना जस्तो गद्दामा बसेर शाहुजीलाई कपडा निकाल्न भन्नु भयो ।
म पनि त्यो चियाको घुट्को निलेर कपडाको थान नजिकै गएर बसेँ ।
हामी त्यहाँ बस्दै गर्दा एकजोडी बाउ – छोरीले कपडा किन्दै थिए । त्यहाँ त मैले बालाई भनेको रातो कपडा भन्दा पनि राम्रो गुलाबी रंगको बुट्टे कपडा देखियो । उनीहरुले पनि त्यै कपडा किने अब त्यो कपडा थोरै मात्र बाँकी रह्यो । त्यसलाई साहुजीले यसो उता पन्छाएर हाम्रा कपडा लिर लाग्नु भएको थियो ।म चाहिँ पल्याक, पुलुक गर्दै कहिले पसलमा आँखा डुलाउँदै कहिले बालाई , कहिले साहुजीलाई र कहिले त्यो कपडालाई हेर्दै गरेकी थिएँ । मलाई विश्वास थियो आज बाले कपडा किन्ने बेलामा बाटोमा सोध्नुभए जस्तै गरेर पक्कै मलाई सोध्नु हुनेछ । त्यै बेला बाले त कपडाको चाङ तिर देखाउँदै शाहु जीलाई भन्नुभयो ” ऊ त्यो निलो आकासे रङ्गको सर्टको कपडा र त्यसैको नजिक भएको गाढा नीलो पाइन्टको कपडा निकाल्नु त ।” यी तीनटै लाई एकै ठाउँमा काट्नु है ? त्यसो गर्दा कपडा अलि काम लाग्छ। “
म छाँगाबाट खसे झैं भएँ । अनि बडो हिम्मत जुटाएर पहिलो पटक भनेँ “बा यो त स्कूलको ड्रेस हो ।” बाले गोलो आँखा बनाउँदै भन्नु भयो ” स्कूलको ड्रेस भएर के भो त ? जान्नि हुन्छे । दशैँ र तिहारमा नयाँ लुगा हुन्छ । त्यसपछि त्यै ड्रेस हुन्छ ।”
त्यति सुनेपछि मलाई भाइ बैनीको रोजाइ सुनाउने आँटै आएन । के के न गर्छु भनेर आएको आफ्नै यो हालत भयो । उता भाइ-बैनी भने म बजार आउनाले भिन्नै लुगा लाउन पाइन्छ भनेर ढुक्क थिए । म केहि नबोली टोलाएर बसिरहें । त्यै बेला साहुजीले मेरो छेउको त्यै गुलाबी कपडा टिप्नुभयो अनि हामीले अगि किनेको सिरक डसनाको खोल, आमालाई किनेको साडी ब्लाउज, पछ्यौरा र पटुका,हजुरबा र बालाई किनेको दौरा सुरुवाल अनि हामीलाई किनेको ड्रेस को कपडा सबै मिलाएर बनेको ठूलो पोको त्यसैले बाँध्नुभयो । त्यो कपडा अब आफ्नै हुने भए पछि फेरी मेरो आशा पलायो। यो कपडाको केही न केही सिलाएर लाउन पाउने भएँ ” ।
त्यस दिन दिउँसो बाले बजारमै खाजा पनि खुवाउनु भयो , बा सँगै नारायणगढ बजार आएको फाइदै भयो । हामी खाजा खाएर घर फर्कियौं घर नपुग्दै भाइ बैनी लुगा हेर्न भनेर ।
अलि बर कृष्णमन्दिरको चौतारामा आएर बसेका रहेछन् मैले साइकलबाट नझरीकनै घर गएर हेरौला भन्ने इसारा गरें । उनीहरू हाम्रो साइकलको पछि पछि दगुरेर घर पुगे । मैले चाहिँ घर पुग्नासाथ कसैले नदेख्ने गरी हामीले लगेको कपडाको पोको खाटमुनि को चकटीमा खन्याएँ र तुरुन्तै हाम्रा लुगा सिलाउने मिनदाई कहाँ पुगीहालें । हाम्रा अरु कपडा सिलाउन जाँदा पनि हामीलाई बा सँग जान मन् पर्दैनथ्यो । किनकि हाम्रो बाले कपडा सिलाउन दिँदा हाम्रो नापो भन्दा धेरैनै ठुलो सिलाइदिन भन्नुहुन्थ्यो । ” “केटाकेटी बढालु हुन्छन् अलि ठूलो ठूलो बनाएर सिलाउन पर्छ है कान्छा” चार दिनमै साना हुने लुगा के काम ? भनी भनी हाम्रा लुगा लाउनै नहुने ठूला बनाइदिनु हुन्थ्यो ।
अनि हामीले चाहिँ सर्ट को बाहुला र पाइन्ट को मोहोतो दोबारी दोबारी लाउनु पर्थ्यो । केहि दिन पहिले भाइलाई किन्दिनु भको चप्पलले पट्याक, पट्याक पछाडिबाट टाउका सम्म हिलो छ्याप्यो भनेर उस्ले लाउन छाडेपछि केही दिनमा आँफैले लगाएर हिंड्नु भएको थियो । हाम्रा जम्मै लुगा , जुत्ता, चप्पल हरु च्यातिने बेलातिर बल्ल ठीक हुन खोज्थे । त्यै भएर हामीलाई लुगा सिलाउन जाँदा बा जुत्ता चप्पल किन्दा बरु बा नभए आफ्नो हिसाबले निर्णय गर्ने पाइन्थ्यो भन्ने लाग्थ्यो। त्यै भएर त्यो गुलाबी कपडा बोकेर म । सिधै मिनबहादुर दाईकोमा पुगें । दाइलाई हामी कपडा किन्न गएको कुरा पनि थाह थियो । त्यसैले “कस्ता कपडा ल्याउनु भयो नि नानी ” दाइले सोध्नुभयो ।
मैले हत्त न पत्त त्यो सानो गुलाबी कपडाको टुक्रो देखाउंदै सोधेँ “मैले लगाउन मिल्ने के बन्छ दाइ यति कपडाको” बन्छ भने सप्पै को भन्दा राम्रो बनाएर एउटा फराक (फ्रक) सिलाईदिनु न ।
दाईले यसो कपडा उचाल्नु भयो र फिस्स र हाँस्दै भन्नु भयो ” यस्को फ्रक त पुतलीलाई मात्र (गुडिया ) पुग्छ नानी, मैले खिन्न हुँदै जोड दिएँ । हैन के दाई जे पुग्छ त्यही सिलाई दिनु न । मलाई असाध्यै मन परेको छ के । “उसो भए एउटा कट्टु बन्छ । ” त्यही सिलाइदिन्छु । हुन्छ ?
प्रतिक्रिया