किसानलाई पेन्सन दिनुपर्यो : आजपा अध्यक्ष साह

इनेप्लिज २०८१ असोज २३ गते १०:३५ मा प्रकाशित

रौतहट÷आम जनता पार्टी (आजपा) अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न ठाउँमा आयोजित दशैँ, दीपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

हरेक वर्ष दशैँदेखि छठसम्म र होलीको समयमा नेता साहले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक गाउँ र टोलसम्म पुगेर औपचारिक शुभकामना कार्यक्रम गर्दै आएका छन् ।

गरुडा नगरपालिका ५ लक्ष्मीपुरमा बोल्दै नेता साहले रौतहट लगायत मधेशका जिल्ला र पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । नेता साहले सरकारको कडा शब्दमा आलोचना पनि गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विपिनकुमार जयसवालले आजपा नेता साहको प्रशंसा गर्दै समाजमा भइरहेको विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । जयसवालले आम नागरिकको समस्या समाधानमा आफ्नो व्यक्तिगत चासो रहेको पनि बताएका छन् ।

कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, संस्कृति मोर्चाका संयोजक विजय यादव निर्बिज लगायतले शुभकामना मन्तव्य दिँदै विकृति, विसंगतिविरुद्ध सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया