लेबनानमा पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु र ८५ जना घाइते , १०० जना अमेरिकी नागरिकलाई लेबनानबाट उद्धार

इनेप्लिज २०८१ असोज १७ गते ११:११ मा प्रकाशित

लेबनानमा बुधबार इजरायली हमलामा ४६ जनाको मृत्यु हुनुका साथै अन्य ८५ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायल डिफेन्स फोर्स(रक्षा बल) ले यसअघि दक्षिणी लेबनानमा “आतंकवादी पूर्वाधार” लाई लक्षित गरी हतियार उत्पादन गर्ने ठाउँहरू लगायतका हमलाहरू गरेको बताएको थियो।

आइडिएफले स्थानीय समय अनुसार गत बुधबार बेरुतमा सटीक आक्रमण गरेको बताएको छ । युद्ध चर्किए पछि थुप्रै देशले आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा जर्मन वायुसेनाले बुधबार १३० जना जर्मन नागरिकलाई लेबनानबाट बाहिर निकालेको बताएको छ ।

यसै गरि अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरका अनुसार संयुक्त राज्यले बुधबार १०० अमेरिकी नागरिक र उनीहरूका परिवारका सदस्यहरूलाई लेबनानबाट बाहिर लैजाने व्यवस्था गरेको छ।

३०० जनाको क्षमता भएको उक्त उडान केही घण्टाअघि टर्कीको इस्तानबुलको लागि बेरुतबाट प्रस्थान गरेको मिलरले बुधबार दिउँसो पत्रकार सम्मेलनमा भने।

“हामी मागको आधारमा आगामी दिनहरूमा थप उडानहरू व्यवस्थित गर्ने आशा गर्छौं,” मिलरले भने।

यता राष्ट्रपति जो बाइडेनले इजरायलमाथिको आक्रमणको जवाफमा आफू र अन्य जी७ नेताहरूले इरानमाथि प्रतिबन्ध लगाउने बताएका छन्।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गत बुधबार यस क्षेत्रको समस्याको आधार नै अमेरिका र केही युरोपेली देशहरूको उपस्थिति भएको बताए । इरानले गत मंगलबार राति इजरायलमा आधा घण्टा भित्र २२० वटा ब्यालेस्टिक मिसाइल(प्राक्षेपिक क्षेप्यास्त्र )प्रहार गरेको अमेरिकी अधिकारीले बताएका छन्।

गत सेप्टेम्बर २७ मा यसका नेता हसन नसरल्लाहको हत्या सहित लेबनानमा तेहरान समर्थित हेजबुल्लाह लडाकु समूह विरुद्ध इजरायलले हालै गरेको कारबाहीको विरोधमा यो आक्रमण भएको हो।

प्रतिक्रिया