ज्ञापन –पत्र
सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीज्यू,
मिथिला सेन्टर अमेरिकाको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा स्वागत गर्न पाउदा हामीलाई निकै खुशी लागेको छ तथा यसै अवसरमा केही महत्वपूर्ण कुराहरु बारे ज्ञापन पत्र दिन अवसर दिनु भएकोमा आभार प्रकट गर्दछु ।
मिथिला संस्कृति नेपाल कै राष्ट्रिय संस्कृतिको धरोहरको रुपमा रहेको सर्व विदितै रहेको छ। मिथिला संस्कृति एक जीवन्त संस्कृति हो जसले आज पनि मिथिलावासी र हिन्दू धर्मावलम्बीहरुको मात्र नभई अन्य समुदायलाई पनि मिथिलाको सांस्कृतिक रहन सहन, कला, संगीत, नृत्य, सामाजिक रिति व्यवहारलाई मार्ग दर्शन गरेको देखिन्छ। संसारको जुनसुकै कुनामा पनि मिथिला संस्कृतिले प्रभाव पारेको प्रत्यक्ष प्रमाणहरु रहेका छन्।
जानकी माताको जन्म स्थल जनकपुरधाम देखि अमेरिकासम्म सम्बन्ध र सम्पर्क सुदृढ र क्रियाशील भएको व्यहोरा सहर्ष यहाँ व्यक्त गर्न चाहन्छु। यहीं अमेरिकाको विश्व प्रख्यात शहर न्यूयोर्कमा विगत ५ बर्ष देखि मिथिला संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि मिथिला सेन्टर अमेरिकाले विविध गतिविधिहरु संञ्चालन हुँदै आएका छन्। यी गतिविधिहरूमा प्रत्येक वर्ष सहभागिता बढदै गएको छ।
न्यूयोर्कमा २०१९ सालमा स्थापित मिथिला सेन्टर युएसएले अमेरिकी कंग्रेसका सदस्यहरु, नेपाली स्थायी नियोग, नेपाली कन्सुलेट, संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क शहरका मेयरको कार्यालय, न्यूयोर्क राज्य तथा न्यूयोर्क शहरका जनप्रतिनिधिहरू तथा अन्य मित्र राष्ट्रका कूटनीतिक तथा कन्सुलर प्रतिनिधिहरू, नेपाली, भारतीय तथा दक्षिण एशियाली अन्य मुलुकका व्यक्तिहरुलगायतको सहकार्यमा मिथिला कला सम्पदा विषयमा मिथिला कला चित्रहरूको प्रदर्शनी, सीताराम विवाह पञ्चमी, मिथिला फेस्टीवल वर्षेनी आयोजना गर्दै आएको छ ।
सर्वप्रथम २०१९ अप्रिलमा मिथिला महोत्सव कार्यक्रम न्यूयोर्क सिटीमा आयोजना गरियो । जसमा एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा संयुक्त राष्ट्र संघको मूख्यालय, न्यूयोर्कमा ८–१२ अप्रिलसम्म Art for SDGs: the Mithila Heritage प्रदर्शनी समेत गरियो । जसमा नेपाल स्थित संयुक्त राष्ट्र संघको कार्यालय, काठमाडौंमा सजिएको जनकपुर नारी विकास केन्द्रका महिला कलाकारले बनाएको संयुक्त राष्ट्र संघको दिगो विकास लक्षहरु १ देखि १७ का १७ वटा मिथिला चित्रकला काठमाडौंबाट ल्याई न्यूयोर्कमा प्रदर्शनी गरियो । उक्त १७ पेन्टीङ्गहरुको नेपाल सरकारबाट २९ डिसेम्बर २०२१ मा हुलाक टिकट (मिथिला चित्रकलामा दिगो विकाश लक्षहरु) जारी गरेकोमा नेपाल सरकार प्रति आभार प्रकट गर्दछौ ।
यस वर्ष ८ –१७ जुलाई २०२४ मा पनि संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा “Art for SDGs: the Mithila Heritage” प्रदर्शनीमा दिगो विकास लक्षमा १३: वातावरणीय प्रभाव (Climate Action) विषय केन्द्रीत मिथिला चित्रकला प्रदर्शनी संयुक्त राष्ट्र संघको High Level Political Forum in Sustainable Development Meeting को अवसरमा आयोजना गरियो । यस प्रकार मिथिला सेन्टरले मिथिला चित्रकला मार्पत संयुक्त राष्ट्र संघको दिगो विकास लक्षहरुको प्रचार प्रसारमा २०१९ देखि प्रत्येक वर्ष योगदान पुरयाउदै आएको जानकारी गराउन चाहन्छु ।
साथै, गतवर्ष मिथिला महोत्सव, २०२३ को कार्यक्रममा न्यूयोर्क शहरका मेयर ले १५ अप्रिललाई न्यूयोर्क सिटीमा “Mithila Culture & Festival Day” को रुपमा मनाउने घोषणा (Proclamation) जारी गर्नु भयो । यसलाई हामीले मिथिला संस्कृतिलाई न्यूयोर्क शहरबाट औपचारिक मान्यता भएको हुँदा कोसेढुङ्गाको रुपमा बुझेका छौं।
न्यूयोर्क शहरका बर्तमान मेयर एरिक आडम्स आफै पनि रामायण र सीतारामको महात्म्य बारे जानकार व्यक्ति पनि भएकोले उहाँले विदेशकै इतिहासमा पहिलो पटक मिथिला सम्पदाको नारासाथ, August 18, 2024 मा आफ्नो सरकारी निवास (Gracie Mansion) मा Official Reception को आयोजना गर्नु भएको थियो । उक्त अवसरमा मिथिला सेन्टरका पदाधिकारी तथा मिथिला कला र सम्पदामा योगदान पुर्याउने संस्थाहरुलाई सम्मान गरिएको थियो।
न्यूयोर्क सिटीमा प्रत्येक वर्ष आयोजना गरिएको मिथिला महोत्सव तथा विवाह पन्चमी महोत्सवमा न्यूयोर्क सिटी स्थित नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासको कार्यालयबाट निरन्तर सहयोग पाएकोले वहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छौ ।
यी गतिविधिहरुबाट हामी उत्साहित भएका छौं र विदेशमा जीवन यापन गर्दै आफ्नो संस्कृतिप्रति गौरवको अनुभूति गर्दछौं ।
यही प्रृष्ठभूमिमा मिथिला सेन्टर युएसएले न्यूयोर्कमा मिथिला संग्राहलय (New York Mithila Heritage Museum) स्थापना गर्ने अवधारणालाई प्रस्तुत गरेको व्यहोरासमेत जानकारी गराउन चाहन्छौं । यी प्रयासहरूमा नेपाल सरकारको तर्फबाटसमेत हामीलाई आवश्यक सहयोग भएमा सह्राहनीय हुने थियो र नेपाल सरकारको सहयोग र समर्थनको रहने हाम्रो अपेक्षा रहेको छ ।
जनकपुरधाम स्थित रामजानकी मन्दीर मिथिला संस्कृतिको प्रतीकको रूपमा रहेको मैले दोहो-याई रहनु पर्दैन । जानकी मन्दीरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदाको सूची (UNESCO World Heritage Site) मा सूचीकृत गर्ने प्रयास नेपालमा निकै बर्ष देखि भैरहेको छ । यस प्रकृयालाई यथाशक्य छिटो नेपाल सरकारले पूरा गरि दियोस र विश्वव्यापी विशिष्ट मान्यता (Outstanding Universal Value) रहेको सम्पदा सूचीकृत हुन सकोस् भन्ने चाहना साथ सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष ध्यान आकृष्ट गर्न चाहन्छौं । अतः यहाँकै कार्यकालमा रामजानकी मन्दीरलाई UNESCO को विश्वसम्पदा सूचीमा दर्ता गराउन आवश्यक पहल गरी दिनु हुन अनुरोध गर्दछौ । यसबाट नेपाल र जनकपुरधाममा पर्यटन व्यवसायमा वृद्धि हुनुका साथै मिथिला संस्कृतिको विश्वव्यापी प्रवर्द्धन हुने विश्वास राखेका छौं ।
भवदीय,
अमित प्रताप शाह नवलकिशोर यादव,
संस्थापक सभापति सल्लाहकार समिती अध्यक्ष
मिथिला सेन्टर, अमेरिका
२६ सेप्टेम्बर २०२४
प्रतिक्रिया