हरितालिका तीज पर्वको महत्व र विशेषता

राजेन्द्र खनाल गुरु २०८१ भदौ २० गते २१:४५ मा प्रकाशित

हरितालिका तीज पर्व सनातनी हिन्दु तथा नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ ।

तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा विकास हुँदै गएको छ ।

भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरीचेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठामीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ ।

तृतीयाका दिन विहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर व्रत बस्ने, दिदीबहिनी, साथीसँगी भेटघाट गरी नाचगान गर्ने परम्परा रहेको छ ।

भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि खाना खाने गरिन्छ ।

चौथो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधिविधान पूर्वक स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।

यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक विश्वास रहिआएको छ ।

हरितालिका तीजको धार्मिक महत्व

हरित्+ आलिका शब्दको संयोजनबाट हरितालिका बनेको छ । पार्वतीलाई आफ्ना साथीहरुले हरण गरी जंगलमा लिएर गएको भन्ने अर्थमा यस पर्वको नाम हरितालिका रहन गएको हो । सोही दिन सोमवार र हस्ता नक्षत्रले युक्त तृतीया तिथि थियो ।

पार्वतीले

“ॐ भाद्रेमासि सितेपक्षे, तृतीया हस्तसोमयुक् ।
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।।”

अर्थात् भाद्र शुक्लपक्ष हस्त नक्षत्रले युक्त तृतीया (हरितालिका तीज) त्यसमा पनि सोमवार पर्यो भने सबै पापहरुबाट मुक्त हुन सकिने शास्त्रीय वचन रहेको छ ।

तृतीयाका दिन विहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर महादेवको व्रत बस्ने, दिदीबहिनी, साथीसँगी भेटघाट गरी नाचगान गर्ने मनोरन्जन गरी आनन्द प्राप्त गर्न सकिन्छ । अर्को तर्फ यो पर्व विवाहसॅग गएर जोडिन्छ- नारीले आफै वर रोज्न पाउनु पर्छ भन्ने विद्रोहको सुरुआतको दिन पनि हो जुन कुरा पार्वतीले पहिलो पटक सिद्ध गरेकी छन् । फलस्वरुप यसको धार्मिक महत्व बढ्नुका साथै महिलाहरुका लागि सनातनीय विशेष चाड बन्न पुग्यो ।

तीजको पूजाविधि – तीजको पूजा गर्नको लागि मन्दिर नै जानु पर्छ वा गुरु नै उपस्थित हुनु पर्छ भन्ने छैन । घरमै सकेसम्म विहान वा दोप्परमा वा बेलुका सॅाझ को समयमा सामान्य रुपमा पूजा सामग्री ( चन्दन अक्षता फूल फल धूप दीप पन्चामृत नैवेद्य सृंगार आदि ) का साथमा पहिले गणेशको पूजा गरी धूप दीप गरी भगवान शंकरको पूजा गर्न सक्नु हुनेछ । थप जानकारीका लागि गुरुहरुलाई सोध्न पनि सक्नु हुनेछ । पूजा गरिसकेपछि दानप्रदानको सामग्री गुरुलाई घरमै बोलाएर वा गुरुको घरमा लगेर वा मन्दिरमा लगेर गुरुलाई दिन पनि सकिन्छ ।

तीजको सामाजिक महत्व

पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथीसँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ ।

यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।

तीजको पहिरन र शृंगार

तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइूचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।

सिन्दुर

सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमानप्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।

सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमानको दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।

टीका


सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमानलाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ ।

टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डोर्याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएकोे छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।

पोते

पोतेविवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।

रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ ।

यी सबै शृंगारका बस्तुहरुको उत्पादन र बिक्री बितरण गर्न ईन्डिया अगाडि छ भने चाईनाले पनि यसको सुरुआत गरिसकेको छ तर नेपाल भने धेरै पछाडि छ । नेपालले पनि यस्ता शृंगारिक सामानहरुको उत्पादन तथा विक्री वितरण गर्न सके आफैमा स्वतन्त्र र समृद्ध राष्ट्र बन्न सक्छ ।

नोटः

अमेरिकामा आज बिहीवार, हस्ता र तृतीयातिथिको संयोजन । सबैलाई हरितालिका तीज ब्रतको शुभकामना Happy Teej 2024.

हिजो सेप्टेम्बर ४ तारिख बुधवार
सेप्टेम्बर ५ तारिख हरितालिका तीज ब्रत
सेप्टेम्बर ६ तारिख गणेश चतुर्थी ब्रत
सेप्टेम्बर ७ तारिख ऋषिपन्चमी ब्रत

प्रतिक्रिया