अलबिदा ममता

जगन्नाथ पौडेल अमेरिका २०८१ भदौ ९ गते ०:१३ मा प्रकाशित

मखमली फुलिरहेको होला

आँगनछेउ

सयपत्री खेल्दैहोला गमलामा

तिम्रो लुसुकलुसुक हिँड्ने पैताला

पर्खिरहेहोला तिमी दिनहुँ हिँड्ने बाटो

खैर मखमली त बुझ्दैन होला

दानवहरूको आक्रमण

त्यसैले तिमीलाई पर्खेर

फुलिरहँदो हो तिमी आउने बाटोनेर

एक पटक उसलाई पनि

थाहा हुने दिन आउनेछ

जब चिसो पानी पातभरि छम्किने

हातहरूको याद हुनेछ

जब मुर्झाउनेछन्

ती चिल्ला हरिया पातहरू

पानीको अभावमा

सयपत्रीलाई थाहा हुनेछ

तिहारको टीकासँगै भाइको गलामा गाँसिने दिन

…………………

म फेरि अवाक भएँ ममता

फगत भाषाबिहीन

मात्र कल्पना गरिरहेछु

तिमी कामले थाकेर पनि

छोरीको माम सम्झिँदै

ढोकाको चुक्कुल खोल्न पुग्ने

ममता भरिएका नरम हातहरू

म अनुमान लगाइरहेछु

तिमीले भान्सामा भोक सुल्झाउन

बजाएका डाडुपन्युका टन्ट्याङटुन्टुङ आवाजहरू

तिमीले पुज्ने भगवानको कोठा

तिमीले दशैँमा निधारभरि टीका लगाएपछि ढोग्ने राक्षसी खुट्टा

उफ् …

कुन शब्द चुनौँ ममता

कुन भाव कुँदौँ

खै…

यो स्वैरकल्पनाजस्तो यथार्थ लेख्ने भाषा ?

खै भयानक सपनाजस्तो सत्य ओकल्ने भाव ?

खै मान्छेको संवेदना ?

खै मान्छेको करुणा ?

यो कालो दिनमा पनि

म त देखिरहेछु ममता

तिम्रो थिलथिलिएको शरीरमाथि अट्टहास गर्नेहरूको भीड

तिम्रो चुँडिएको आत्मामाथि जोडघटाउ गर्नेहरूको झुन्ड

उनीहरू त संवेदनाले होइन

आफ्नो कुण्ठा पोख्ने अवसरले पो दङ्ग छन्

बलेको खरमा कपास थप्ने मौकाले पो छक्क छन्

ओ ममता

कहाँ गयो

हामीभित्रको मान्छे

कहाँ हरायो हाम्रो सत्य ठम्याउने कसी

अब

लड्नु कुट्नुपिट्नु

छुट्नु छुटाउनु यिनै हुन् त

जीतका स्रोतहरू

तिनैले हो त

हाम्रो सम्बन्ध डोर्याउने

बदला वा बबाल ?

छैनन् र बाँकी

ममता र सबाल

प्रेम र अङ्कमाल ?

अपराधको कस्तो आकार हुन्छ र ममता ?

कुन रङको धर्म हुन्छ

कुन थर र लिङ्गको हुन्छ

अपराध गर्ने अपराधी हुन्छ

हिंसा गर्ने हिंस्रक हुन्छ

महिला हुनु मारिनु

पुरुषहुनु मार्नु

यस्तो अर्थले धर्ती कसरी चल्छ ममता

कुनै दिन सपनामा आऊ

सम्झाऊ

न्यायको माने

कुनै दिन ऐँठनमा आऊ र

बताऊ मानवताको अर्थ

होइन भने

हाँस्दैजानेछ राक्षसीवृत्ति

रेट्दैजानेछ कोमलताको घाँटी

म त देखिरहेछु मान्छेहरूका आँखामा हतियार

म त हेरिरहेछु मान्छेका छातीमा नक्कली अवतार

ओ ममता

भो छोडौँ एकाङ्गीहरूलाई सम्झाउने कुरा

तीजमा नाच्ने दिन भित्रिँदै थियो

दाइभाइ सङ्गीसाथीहरूको निम्तो सङ्लिँदै थियो

तर

सबै खरानी पार्यो राक्षसी नङ्ग्राले

भुसुक्कै बदनामी फैलायो बहुलट्टी पन्जाले

सक्छौ भने माफ गर ममता

म मान्छे हुनुको नाता केही गर्न सकिनँ

मानवता बचाउन

म पुरुष हुनुको नाता

स्वयम् बच्न सकिनँ बदनामीबाट

तर तिमीलाई त पक्का हेक्का छ

ममता

अपराधीको कुनै रङ हुँदैन

राक्षसीवृत्तिको कुनै नस्ल हुँदैन

सक्छौ भने पुन: माफ गर ममता

माफ गर…

जहाँ छौ भगवानसँगै छौ

अब राक्षसले छुन नसकोस्

तिमी फेरि रुन नपरोस्

माथिबाटै भए पनि छोरीको टुकुटुकु हेरिरहनू

नबिर्सनू

साथीसङ्गी सम्झिरहनू

आफ्नो असाध्यै ख्याल राख्नू

म आँसुले लेखिरहेछु

मुटुले बोलिरहेछु ममता

अलबिदा…

अलबिदा…

अलबिदा…!

प्रतिक्रिया