मलावीका उपराष्ट्रपति बोकेको सैन्य विमान बेपत्ता, खोजी जारी

इनेप्लिज २०८१ जेठ २९ गते ११:२० मा प्रकाशित

मलावी – देशका उपराष्ट्रपति र एक पूर्व प्रथम महिलालाई बोकेको सैन्य विमान सोमबार यस क्षेत्रमा बेपत्ता भएपछि सैनिकहरूले उत्तरी मलावीको एउटा शहर नजिकैको पहाडी जङ्गलमा खोजी गरिरहेका राष्ट्रपति लाजरस चकवेराले बताए ।

५१ वर्षीय उपराष्ट्रपति साउलोस चिलिमा, पूर्व प्रथम महिला शनिल डिजिम्बीरी र अन्य ८ जना सवार उक्त विमान दक्षिण अफ्रिकी राष्ट्रको राजधानी लिलोङवेबाट बिहान ९:१७ मा प्रस्थान गरेको थियो । ४५ मिनेटपछि मजुजु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको थियो।

तर एयर ट्राफिक कन्ट्रोल( आकाशमार्ग यातायात नियन्त्रण )ले अवतरणको प्रयास नगर्न र खराब मौसम र कमजोर दृश्यताका कारण घुम्न आदेश दिएको एबिसीन्यूजले जनाएको छ ।

आकाशमार्ग यातायात नियन्त्रणले विमानसँग सम्पर्क टुटेको र केही समयपछि नै राडारबाट गायब भएको एक अधिकारीले बताए ।

“यो हृदयविदारक अवस्था हो। मलाई थाहा छ हामी सबै डराएको र चिन्तित छौं। म पनि चिन्तित छु,’ राष्ट्रपति चकवेराले भने । “तर म तपाईलाई आश्वस्त पार्न चाहन्छु कि म त्यो विमान फेला पार्नको लागि कुनै उपलब्ध स्रोतहरूलाई छोडिरहेको छैन ।

मजुजु मलावीको तेस्रो ठूलो शहर र उत्तरी क्षेत्रको राजधानी हो। यो पहाडी, जंगली क्षेत्रमा छ, जहाँ पाइन रूखहरूको विशाल वृक्षारोपण गरिएको छ ।

राष्ट्रपतिले खोजी कार्यहरू रातभरि जारी रहने वाचा गरेका छन् । चकवेराले भने, ‘विमान फेला नपर्दासम्म कारवाही जारी राख्न कडा निर्देशन दिएको छु ।

चकवेराले अमेरिका, बेलायत, नर्वे र इजरायलले खोजी अभियानमा सहयोग प्रस्ताव गरेको र “विशेष प्रविधिहरू” उपलब्ध गराएको बताए ।

प्रतिक्रिया