इजरायली सेनाद्वारा गाजामा छापा मार्दा हमासले बन्धक बनाएका नोआ अर्गामानी सहितका ४ जना बन्धकहरूलाई सकुसल उद्धार

इनेप्लिज २०८१ जेठ २६ गते ११:३३ मा प्रकाशित

इजरायलले गाजामा नोआ अर्गामानी, अल्मोग मीर जान, आन्द्रे कोज्लोभ र स्लोमी जिभसहित ४ जना बन्धकहरूलाई उद्धार गरेको जनाएको छ।

 गाजामा हमासद्वारा बन्धक बनाएका चार इजरायली बन्धकहरूलाई भूभागको केन्द्रमा रहेको नुसेराट शिविरमा छापा मार्दा जीवित उद्धार गरिएको इजरायली रक्षा बल, सुरक्षा सेवा शिन बेट र इजरायली प्रहरीले शनिबार एक संयुक्त विज्ञप्तिमा घोषणा गरेका छन्।

२५ वर्षीय नोआ अर्गामानी, २१ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया स्लोमी जिभलाई गत अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभल( सॅगीत उत्सव)बाट अपहरण गरिएको थियो। 

इजरायली रक्षा बलले मध्य गाजामा “आतंकवादी पूर्वाधार” मा आक्रमण गरिरहेको घोषणा गरेको छ।

संयुक्त विज्ञप्तिका अनुसार कारवाहीको क्रममा दुई फरक स्थानबाट बन्धकहरूलाई उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई थप स्वास्थ्य परीक्षणका लागि तेल हसोमेर शेबा चिकित्सा केन्द्रमा पठाइएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बिशेष बलहरूले असाधारण साहसका कारवाही सञ्चालन गरे र आफ्नो लक्ष्य पुरा गर्न सफल भए, इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले घोषणा पछि भने। 

इजरायलको रक्षा प्रतिष्ठानले १२० बन्धकहरू घर नफर्केसम्म लडाइँ जारी राख्ने जनाएको छ ।

“नोआ अर्गामानी, स्लोमी जिभ, आन्द्रे कोज्लोभ, र अल्मोग मीर जानलाई मुक्त गरी घर ल्याएको आडिएफद्वारा वीरतापूर्ण कारवाही एक चमत्कारी विजय हो,” बन्धक परिवार मन्चले एक विज्ञप्तिमा प्रशसा गरेको छ ।

प्रतिक्रिया