स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका नाममा !

रामप्रसाद खनाल २०८१ जेठ १९ गते २१:२२ मा प्रकाशित

पञ्चायतकालमा, त्यो बेला हामी विद्यार्थी, युवा थियौँ, रगत तातो थियो । तत्कालीन हाम्रा नेता भनाउँदाहरूले हामीलाई पञ्चायत, राजा र राजतन्त्र नै देशको मुख्य शत्रु हो भनेर सिकाए, हामीहरू नेताका अन्धभक्त भयौँ, पञ्चायती व्यवस्था – मुर्दावाद, बिरे चोर – देश छोड, पम्फादेवी ठकुरानी – मुर्दावाद, स्विस बैङ्कमा राखेको कालो धन – फिर्ता ले जस्ता अराजक नारा लगाउनु, देश भर पञ्चायत, राजा रानीका विरुद्ध जहर फैलाउनु हामी अन्धाहरूले राम्रो काम ठान्यौँ । तर ठिक उल्टो रहेछ वास्तविकता जुन आज देखिँदै छ भोगिँदै छ । ती राजा वीरेन्द्र होइन हामीलाई राजनीतिक जहर पिलाउने नेताहरू अपराधी रहेछन्, देशका शत्रु रहेछन् । आज मैले मात्र होइन लुटेराहरूका केही स्वार्थी मतियारहरू बाहेक हरेक नेपाली जन जनले पश्चात्ताप मान्ने दिन आएको छ ।
आज जेठ १९, इतिहासको कालो दिन । राजा वीरेन्द्र र सम्पूर्ण परिवारको राजदरबार भित्रै बीभत्स हत्या गरिएको र नेपाललाई २०० वर्ष पछाडि धकेलिएको दिन । राजन, तिमी र तिम्रो परिवार मात्र लगेनन् पापी, अधर्मी, अपराधीहरूले । तिमी सँगसङै स्वर्ग जस्तो नेपाल देश, संस्कृति, हर कुरा ओरालो लाग्दैगइरहेका छन् । तिम्रा विरुद्ध नाराबाजी गर्ने म लगायतका म जस्ता हरेक जन जनले अहिले पश्चात्तापको आगो पिएर बाँचिरहेका छौं । तिमी र तिम्रो योगदान स्मरण गरिरहेका छौँ । हामीलाई पाप लागे जस्तै भएको छ जसले तिमी र देशलाई माया गर्ने त्यो धुरी आज निकै मिस गरिरहेका छौँ । राजन, तिमी र तिम्रो परिवारको स्वर्गमा बास होस हार्दिक श्रद्धा सुमन । हामीलाई सराप नदिए राजन । हामी यहाँ भन्दा बढी सराप भोग्न सक्ने अवस्थामा छैनौँ अब । तिम्रो सम्पूर्ण परिवारको आत्माले शान्ति पाओस् । हामी बाँचुन्जेल तिमी र तिम्रो परिवार, तिम्रो योगदान र देशभक्तिलाई सम्झिरहने छौँ, सलाम गरिरहने छौँ ।

– रामप्रसाद खनाल

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया