लोकप्रिय मुख्य भान्से सन्तोष शाहले खोले ललितपुरमा ‘मिथिला थाली’ चमेनागृह

इनेप्लिज २०८१ वैशाख ३० गते २२:४१ मा प्रकाशित

काठमाडौ । मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मुख्य भान्से (मास्टर सेफ )सन्तोष शाहले ललितपुरको झम्सिखेलमा नयाँ चमेनागृह (रेस्टुरेन्ट) ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् ।

करिब पचास लाख रुपैयाँको लगानीमा आफ्ना दाइ दिलिप र भान्से (सेफ )लक्ष्मणसँगको सहकार्यमा उनले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् ।
गत वर्ष जेठ ६ गते जनकपुरबाट सुरू भएको मिथिला थालीलाई काठमाडौंमा एक वर्षपछि सुरू गरिएको मुख्य भान्से सन्तोषले बताए ।

उनले भने,’मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।’ आफूले बाल्यकालदेखि नै मिथिला संस्कृति र खानपानमा रमाएको सम्झँदै अहिले यसको प्रवर्द्धनका लागि काम गरेको शाहले सुनाए ।

जनकपुरमा आवासीय सुविधा सहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालनमा रहेको छ । त्यही मिथिला थालीलाई ललितपुरको झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो ।

बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै बिहानी खाजा सूची (ब्रेकफास्ट मेनु)सहित बिहानैदखि चमेनागृह (रेष्टुराँ )सञ्चालनमा ल्याइने सेफ सन्तोष बताउँछन् ।

भान्से साहले दैनिक खानपान (डेली डाइट) शीर्षकको थालीमा तीन वटा मांसाहारी झोलवाला लेदो तरकारी (ननभेज करी), जनकपुरको लस्सी र रसमलाइ लगायतका परिकार राखेका छन् । साथै मिथिला थाली ५५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो चमेनागृह (रेष्टुराँ)मा जनकपुरको तावा माछा पनि पाइन्छ ।

चमेनागृह (रेष्टुराँ)लाई विभिन्न प्रकारका मिथिला कला ले सजाइएको छ । “हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ”, उनले भने ।

यतिमात्रै नभएर मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरुका लागि खर्च गरिने उनले बताए । यसअघि पनि उनले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

जनकपुरमा मिथिला थालीको प्रति थाली ३ सय रुपैयाँ पर्ने गरेको छ । जसमा साढे एक दर्जन परिकारको मज्जा लिन सकिने दिलिप बताउँछन् । उनले अहिले झम्सिखेलमा पनि धेरै भन्दा धेरै मिथिला परिकार खुवाउने बताए । उनले मिथिला थालीमा मिथिला र तराईको खानासूची स्थापित (मेनु सेटअप )गरिएकाले धेरैले रुचाउने विश्वास रहेको बताए । उनी भन्छन्,’केही समयपछि हामीले केराका परिकार समेत राख्नेछौं । सृजनात्मक (क्रियटिभ) तरिकाले स्थापित (सेटअप)गरिने थालीलाई ग्राहकले मन पराउनुहुन्छ ।’

आफुलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको मार्का गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्धनले विदेशीहरूलाई समेत यसप्रति आकर्शित गर्न सकिने बताए । उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनु पर्नेमा जोड दिए । उनी भन्छन्,’यहाँको आलुको रोटी, कडी करी लगायतलाई विश्व वजारमा लैजान सकिन्छ । मूल्य सिर्जना (भ्यालु क्रिएट )गर्न सकिन्छ ।’

मिथिला थालीलाई मुलुकभित्र र बाहिर समेत विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौंको गौशला, विराटनगर र विरगञ्जमा मिथिला थाली विस्तार हुनेछ । त्यसपछि केही समयमा भारत र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गरिने दिलिप बताउँछन् ।

प्रतिक्रिया