क्यानाडाको संघीय संसदकालागी अनिल थापाको उम्मेदवारी 

मदन बस्नेत २०८१ वैशाख ६ गते २२:०४ मा प्रकाशित

विण्डसोर, क्यानाडा। अवसर नै अवसरको भूमि क्यानाडामा नेपालीको इतिहास त्यति लामो छैन तर नेपालीहरु यतिखेरसम्म उनीहरु विभिन्न पेशा ब्यबसाय शिक्षा, स्वास्थ, प्रबिधि, व्यापार, यातायात लगायतका सेवामा राम्रोसँग आफ्नो उपस्थिति जनाउन सफल भईसकेका छ्न्।

त्यस अलावा क्यानेडीयन राजनीतिमा आफ्नो उपस्थिति जनाउने र भूमिका खोज्ने अभियानमा समेत जुट्ने कार्यको पनि थालली भएको छ।

त्यसरी क्यानेडीयन राजनीतिको ढोका ढकढक्याउने कार्यको सुरुवात गर्नु भएको छ, नमस्ते रेडियो टोरोन्टोलाई नीरन्तर १८ बर्ष देखि संचालन गर्दै आउनु भएका संचारकर्मी, एनआरएन क्यानाडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यबसायी अनिल थापाले ।

वहाँले क्यानाडा विण्डसोर वेस्टबाट कन्जरभेटिभ पार्टीको तर्फबाट सन् २०२५ को अक्टोबरमा हुने संसदीय चुनावमा उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ।

अनिल थापाको उम्मेदवारी र बिजयले क्यानाडाको राजनितिक मूलप्रवाहमा नेपालीहरुको सम्मानजनक उपस्थिति हुने अवसर खुल्ने छ। तर त्यसकोलागी सर्वप्रथम वहाँलाई सबै नेपालीहरुले सघाएर पार्टी भित्रको प्रतिस्पर्धाबाट योग्य बनाउनु आवश्यक छ । अन्तरपार्टी प्रतिस्पर्धामा थापाको बिजय त्यतिबेला मात्र संभव हुन्छ जब सम्बन्धित क्षेत्रमा बसोबास गर्ने धेरैभन्दा धेरैले सर्वप्रथम सम्बन्धित पार्टीको सदस्यता लिने छ्न् र मतदान गरेर वहाँलाई चुन्ने छ्न्।

पहिलो चरणको अन्तरपार्टी प्रतिस्पर्धामा वहाँहरुलाई जिताउन सक्यौ भने दोस्रो चरणमा वहाँलाई सफल बनाउन पूरै पार्टी पंक्ति नै लाग्ने छ। वहाँ स्वत: अहिलेका चर्चित र सबैले आशा गरेका विपक्षी दलका नेता तथा कन्जर्वेटिभ पार्टीका अध्यक्ष पियर पोलियभको टिमको रुपमा देखा पर्नु हुनेछ।

त्यसैले नेपालीहरु सबैले हातेमालो गर्ने हो र वहाँलाई जिताउन कम्मर कसेर लाग्ने हो भने सबैको सहयोगमा क्यानाडाको राजनीतिको मूल प्रवाहमा नेपालीले पनि ठाउँ पाउने प्रचुर संभावना देखिन्छ। र, नेपालीहरुका मुद्धाहरु प्रान्तिय सरकारमा समाबेश गराउन सक्ने अवसर पनि खुल्ने छ ।

क्यानेडेली संसदमा नेपालीहरुको प्रतिनिधित्व हुनु भनेकै क्यानेडेली राजनितिमा नेपालीहरुको पहुँच बढ्नु हो। त्यसबाट क्यानाडाको सरकार तथा सम्बन्धित सरोकार निकायले नेपाल र नेपाली समुदायप्रति ध्यान केन्द्रित गर्ने अबस्थाको सृजना हुनेछ ।

त्यसैकारण कन्जरभेटिभ पार्टीको तर्फबाट विण्डसोर वेस्टबाट उम्मेदवारी दिएका अनिल थापाको सफलताकोलागि क्यानाडा बस्ने नेपाली समुदायका अगुवाहरूले विण्डसोर वेस्टका सम्पूर्ण नेपाली भाषी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहयोगकोलागि हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया