नयाँ वर्षको उपलक्ष्यमा क्यानडामा नेपाली झण्डोत्तोलन

डा.गोबिन्‍द सिंह रावत २०८१ वैशाख २ गते २:५४ मा प्रकाशित

नेपाली नयाँ वर्षको इतिहास खोतल्दै गयौं भने हामी भारतवर्षका राजा विक्रमादित्यको समय अर्थात आजभन्दा २२८८ वर्षअघिसम्म पुग्ने गर्छौं । राजा विक्रमादित्यले ईसापूर्व ५७ वर्षमा शको वंशलाई पराजित गरेर आफ्नो विक्रम सम्वत् को थालनी गराएका थिए । त्यहीँ वर्ष विक्रमादित्य नेपालमा आएर विभिन्न धार्मिक उत्थानका कार्यहरु गर्नका साथै नेपाली जनतालाई कर मुक्त गराई आफ्नो सम्वत् चलाएर गएको पनि मानिन्छ ।

यसरी नेपालमा विक्रम संवत्को थालनी भएको मानिन्छ । आज विक्रम संवत २०८१ को पहिलो दिन अर्थात नेपाली नयाँ वर्षको थालनीको दिन । यही नयाँ वर्षको पहिलो दिनलाई नेपाली समुदायले हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।

यही उपलक्ष्यमा क्यानडाका नेपाली समुदायले आफ्नो नयाँ वर्षको आगमनलाई आप्रवासमा चिन्हाउन नेपाली झन्डोत्तोलनको कार्यक्रमको थालनी गराएका छन् । नेपालिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस.) को पहलमा पहिलोपटक टोरन्टो महानगरपालिकाको प्राङ्गणमा एक विशेष समारोहका बीच नेपालीहरुका शान नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन सुसम्पन्न भएको छ ।

क्यानडाका लागि महामहिम राजदूत श्री भरतराज पौडेलको समुपस्थितिमा संस्थाका अध्यक्ष बीना वर्माको अध्यक्षतामा आयोजित यस ऐतिहासिक कार्यक्रममा संस्थाका सभापति डा. थमनाथ अधिकारीले सम्बोधन गरेर संस्थाको गरीमामय कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

स्वागत मन्तब्य दिदै अध्यक्ष बीना वर्माले नेपाली झण्डालाई क्यानडाको आकाशमा फरफराउनका लागि क्यानडा सरकारसँग पहल गर्दै आएको र अन्ततः आज हामी सबैले गर्व गर्ने दिन भएको भन्नु भयो । सन् २००० मा स्थापित एनसिसिएसले सन् २००६ देखि यही महानगरपालिकाको प्राङ्गणमा सेप्टेम्बरको पहिलो आईतबार ‘नेपाली मेला– हिमालय फेस्टिभल’ को आयोजना गर्दै आएको छ ।

कार्यक्रममा यहाँ अवस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आज दर्ता भएको यो ऐतिहासिक दिनले निरन्तरता दिदै जानु पर्ने बारे आ–आझ्नो विचार राख्नु भएको थियो ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आजकै दिन विपक्षी दलका नेता कन्जर्वेटिभ पार्टीका अध्यक्ष पियर पोलियभ्र (https://www.facebook.com/PierrePoilievreMP?amp%3B__tn__=-]K-R) ले क्यानडाका नेपाली समुदायलाई नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिनु भएको थियो ।

आजकै दिन क्यानडाको पहिलो नेपाली संस्था नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एन.सि.एन.सि.) को पहलमा गत वर्ष ब्राह्म्टन महानगरपालिकाको सहयोगमा स्थापना भएको नेपाललाई चिन्हाउने नेपाली नाम रहेको ‘सगरमाथा पार्क’ मा त्यहाँका नेपाली समुदायको समुस्थितिमा नयाँ वर्षको स्वागत नेपाली झण्डा झण्डोत्तोलन गरेर मनाइएको थियो ।

नेपाली झण्डा विश्वकै एकमात्र झण्डा हो जसको बनोटले विश्वभरी नै एउटा बेग्लै परिचय पाएको छ । हाम्रो झण्डा दुई एकल पेननको एक सरलीकृत संयोजन हो । जसलाई डबल पेनन भनिन्छ। नेपालको राष्ट्रिय झण्डा रातो, नीलो सिमाना भएको र यसमा चन्द्रमा र सूर्य प्रतीकहरू छन्।

यो संसारको एकमात्र गैर चतुर्भुज राष्ट्रिय झण्डा हो। यसमा चन्द्रमा र सूर्य दुई त्रिकोणहरूमा छन् जुन ठाडो रूपमा एक अर्कामा राखिएको छ। यसमा रहेको रातो रङ्ग बहादुरीको प्रतीक हो भने यसले नेपालको राष्ट्रिय फूल लाली गुँराशको रंगको पनि प्रतिनिधित्व गर्दछ । त्यस्तै झण्डाको सीमानामा रहेको नीलो रंगले शान्तिको प्रतिनिधित्व गरेको छ ।

प्रतिक्रिया