अमेरिकाका दुई राज्यमा जीवन विज्ञानद्वारा चक्र विज्ञान साधना गराइँदै

इनेप्लिज २०८० चैत २८ गते २३:२३ मा प्रकाशित

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आधुनिक मानव सभ्यताको इतिहासमा नै पहिलोपटक ५३०० जनालाई एकै स्थानमा राखी गरिएको सातदिने विराट चक्र विज्ञान भर्खरै सकिएलगत्तै अमेरिकामा चक्र विज्ञान साधना गराउन जीवन विज्ञानका संस्थापक गुरुहरु अमेरिका आउनुहुने भएको छ ।

यही जुन ८ देखि १४ सम्म क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा आयोजना हुने चक्र विज्ञानका लागि अमेरिका तथा क्यानडामा रहेका नेपाली समुदायबाट सहभागिताको दर्ता प्रक्रिया सुरु भइसकेको जीवन विज्ञान अमेरिकाले जनाएको

छ । यस साधनाका लागि जीवन विज्ञान अमेरिकाको वेभसाइट www.jvusa.orgमा गएर आफ्नो नाम दर्ता गराउन सकिने र थप जानकारीका लागि वेभसाइटमार्फत् सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न सकिने पनि आयोजक संस्थाले जानकारी गराएको छ ।

हाम्रो शरीर र मनको दीर्घकालीन स्वास्थ्य सन्तुलन गरी समग्र जीवन विकास अनि सुख, आनन्द, शान्ति र समृद्धिका लागि हाम्रो सूक्ष्म शरीरमा रहेका सात शक्तिकेन्द्र, जसलाई चक्र भनिन्छ तिनलाई सक्रिय बनाउन दक्ष गुरुको ऊर्जामण्डलभित्र रहेर गरिने साधना नै चक्र साधना हो ।

चक्रहरुको सक्रियताबाट व्यक्तिमा रहेका वर्षोँ पुराना रोगहरु निको भएर व्यक्तिले आफू स्वस्थ भएको अनुभव गर्नुका साथसाथै खुशी, साहस, जाँगर प्राप्त भएको अनुभव गर्न थाल्छ । यसका साथै अरुप्रतिको प्रेममा वृद्धि भएको अनुभव हुनु, आफूले बोलेको वाणीमा मधुरता आउनु, बोलेका कुरा पूरा हुन थाल्नु तथा चक्रहरुको सक्रियता बढ्दै गएपछि परमात्माको ब्रह्माण्डीय सत्ताको आफू एक शूक्ष्म हिस्साका रुपमा जीव भएर मानव शरीरमा रहेको बोध हुन थाल्नुजस्ता आफूमा देखिन थालेका परिवर्तन साधकले अनुभव गर्न थाल्दछ ।

सन् २०११ मा बहुधर्मसहिष्णु आध्यात्मिक संस्थाका रुपमा काठमाडौँमा जीवन विज्ञान स्थापना भएपछि जीवन विज्ञानका संस्थापकद्वयमध्ये एक गुरु एल पि भानु शर्माले पहिलो पटक सन् २०२२ को मे ७ र ८ मा सान फ्रान्सिस्कोको रिचमण्डमा अवस्थित ग्युटो फाउन्डेसनको हलमा दुई दिवसीय ध्यान साधना गराउनुभएको थियो । त्यसबाट प्रभावित सवा सयभन्दा बढी साधकमध्ये धेरैले तत्काल क्यालिफोर्नियामा चक्रविज्ञान साधनाका लागि जीवन विज्ञानका गुरुसँग अनुरोध गरेका थिए । स्थानीय नेपालीभाषी समुदायको दुई वर्षअघिदेखिको इच्छा अब छिटै पूरा हुन लागेकामा जीवन विज्ञान अमेरिकाले खुशी व्यक्त गरेको छ ।

सूचना प्रविधिको अत्याधुनिक विकासका मूल स्थानका रुपमा रहेको सान फ्रान्सिस्को क्षेत्र चक्रविज्ञानका साधकका लागि त्यहाँ पुगेका साधकका लागि निजी भ्रमणको क्षेत्र पनि हो जहाँ गुगल, फेसबुक, एप्पललगायतका सूचनाप्रविधिप्रदायक संस्थाका मुख्य कार्यालयहरु रहेका छन् । साथै सान फ्रान्सिस्को को बे क्षेत्र तथा गोल्डन ब्रिज लगायतका आकर्षक क्षेत्रले पनि चक्रविज्ञानका लागि सान फ्रान्सिस्को पुग्ने साधकलाई आनन्द दिनेछन् ।

यसपटक क्यालिफोर्नियामा हुने चक्र विज्ञान साधना गराउन नेपालबाट जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञका रुपमा विगत १३ वर्षदेखि विश्वभरि छरिएका नेपाली जनमानसमा स्थापित आदरणीय व्यक्तित्व एल पि भानु शर्मा ‘भानु गुरुदेव’ रमेश नेपाल ‘रमेश गुरुदेव’ जुन ४ मा अमेरिका आइपुग्नुहुनेछ । दुवै गुरुदेवले जुन १७ र १८ मा नर्थ क्यारोलाइनमा आयोजना हुने अमेरिका र क्यानडामा रहेका जीवन विज्ञानका प्रशिक्षकहरुको दुईदिने भेला ‘मित्र मिलन’ समारोहमा दुवै गुरुदेव आउनुहुनेछ । अमेरिका र क्यानडामा मात्र जीवन विज्ञानको विभिन्न तहको साधना पूरा गरी प्रशिक्षक प्रशिक्षण तालिम पूरा गरेका ९० भन्दा बढी प्रशिक्षकहरु रहेका छन् ।

मित्र मिलनपछि दुवै गुरुदेव जुन २३ देखि २९ सम्म ओहायोमा हुने चक्र विज्ञानमा संलग्न हुनुहुनेछ । ओहायोमा ग्लोबल भुटनिज हिन्दु अर्गनाइजेसनको संयोजनमा चक्र विज्ञान हुनेछ । ओहायोको गालियनमा अवस्थित ओम सेन्टर दिव्यधाममा हुने चक्र विज्ञानमा सहभागी हुन चाहने व्यक्तिले GBHO को वेभसाइटमा गएर नाम गर्ता गर्न सकिनेछ । सानफ्रान्सिस्को, नर्थ क्यारोलाइना र ओहायोमा अन्य गुरुदेवका साथमा विभिन्न मितिमा स्थानीय संस्थाको संयोजनमा सत्सङ्ग कार्यक्रमहरु आयोजना हुने जीवन विज्ञान आयोजनाले जनाएको छ ।

जीवन विज्ञान अमेरिकाले सन् २०२२ को जुलाईमा अमेरिकाका विभिन्न तीन राज्यमा आयोजना गरेको चक्रविज्ञान साधनामा ५०० भन्दा बढी नेपालीभाषी समुदायका सहभागीहरुले भाग लिएका थिए । यसरी भाग लिनेमा १० वर्षभन्दा माथिका ७५ वर्ष उमेरसम्मका अमेरिका, क्यानडा र बेलायत निवासी सहभागीहरु थिए । त्यस वर्ष ओहायोमा भएको चक्र विज्ञान साधना संयोजन ग्लोबल भुटनिज हिन्दु अर्गनाइजेसनले गरेकाे थियो भने टेक्सासमा भएकाे चक्र विज्ञान साधनामा नेपाली मन्दिरको स्थानीय संयोजन रहेको थियो ।

प्रतिक्रिया