होली विपन्न समुदायको पनि बन्न सकोस् : जयसवाल

इनेप्लिज २०८० चैत ११ गते १५:२८ मा प्रकाशित

रौतहट÷होली पर्व भड्किलो बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । रौतहटको गरुडा नगरपालिका ५ का वडाध्यक्ष रामविनोद साहको घर महम्मपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले होलीलाई भड्किलो बनाउनुभन्दा विपन्न समुदाय मैत्री होली बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । सहिद रामविश्वास जनारसी प्रतिष्ठान रौतहटका अध्यक्ष विपिन जयसवालले होलीलाई विपन्न समुदायको पनि बनाउन र सबैको सद्भावपूर्ण बनाउन अन्य विकृति विसंगतिलाई असत्य मानी आफूभित्रको असत्यमाथि सत्यको विजय गराउनुपर्ने बताएका हुन् ।

रौतहटको गरुडामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष जयसवालले विपन्न, सहिद परिवार तथा निमुखा नागरिकलाई होलीको विकृतिले थप आर्थिक भार दिइरहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न र सबैको साझा पर्वको रुपमा होलीलाई कायम राख्न विकृतिमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनिप्रसाद कल्वारले होलीलाई रंग र अबिरको पर्वको रुपमा मात्र नलिई सबै वर्ग र समुदायको साझा आत्मीयताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् । होलीले सामाजिक एकता र भाइचाराको सन्देश दिएको बताउँदै नगर प्रमुख कल्वारले होलीलाई शान्तिपूर्वक मनाउन सबैमा आग्रह गरेका छन् ।

यसै गरी नेकपा एसका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् ।

सशस्त्र बेस दुधियाभारका प्रमुख सप्रनि सन्जितकुमार सिंहले होलीको दिन झन्झट झमेला हुँदा धेरै परिवारको होली नै बिग्रिने गरेको बताउँदै सबैले आफूलाई नियन्त्रणमा रहेर र अरुलाई कुनै किसिमले बाधा विरोध नगरी होली मान्न सुझाव दिएका छन् ।

गरुडा ५ का वडाध्यक्ष रामविनोद प्रसाद साहले होली मिलन, सद्भाव तथा आत्मीयताको पर्व भएकोले सबैले सबैको लागि शुभ हुने गरी मनाउन आग्रह गरेका छन् । आगन्तुक हरेकलाई गमछा ओढाएर तथा अबिरले स्वागत गर्दै वडाध्यक्ष साहले होलीले आत्मीयता बढाउनुपर्नेमा जोड दिएका छन् ।

होली पर्वमा देखिएका विकृति विसंगतिमा नवयुवाहरु बढी पिरोलिएको र विपन्न समुदायका नवयुवाहरु झन् समस्यामा देखिएकाले होलीको विकृतिलाई सामाजिक विकृतिको रुपमा लिएर सबै वर्ग र समुदायले विकृतिरहित भएर संस्कृतिको संरक्षण गर्न होली मान्नुपर्ने वक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया