मस्को स्थित एक सङ्गीतस्थलमा आक्रमणमा परि कम्तिमा ६० जनाको मृत्यु ,१०० भन्दा ज्यादा घाइते , आइएसआइएसले लियो जिम्मेबारी

इनेप्लिज २०८० चैत १० गते १:३९ मा प्रकाशित

रुसको राजधानी मस्को स्थित एक सङ्गीतस्थलमा आक्रमणमा परि कम्तिमा ६० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । उक्त घटनाको जिम्मेबार आइएसआइएसले लिएको छ ।

मस्को नजिकैको एक लोकप्रिय सङ्गीत स्थल (कन्सर्ट) परिसरमा शुक्रबार भएको आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन्।

आतंकवादी समूहले शुक्रबार टेलिग्राममा आईएसआईएससँग सम्बद्ध समाचार सँस्था अमाकले प्रकाशित गरेको छोटो वक्तब्यमा आक्रमणको जिम्मेवारी लिएको छ।

रुसी सरकारी दूरदर्शन (टेलीभिजन )आरआईए नोवोस्तीका अनुसार सशस्त्र व्यक्तिहरूले “स्वचालित हतियारहरूद्वारा गोली चलाएको” र आगजनी गर्ने बम फ्याँकेको र त्यस पछि आगो लागेको बताएको छ । त्यसपछि तिनीहरू कथित रूपमा सेतो गाडीमा भागेका थिए ।

घटनास्थलको छत आंशिक रूपमा भत्किएको छ । अज्ञात व्यक्तिहरू सांगीतिक कार्यक्रम सुरु हुनु अघि गोली चलाउन थालेको टासले जनाएको छ ।

क्षेत्रीय गभर्नर एन्ड्रे भोरोब्योभले मस्कोमा दशकौंमा भएको सबैभन्दा घातक आतंककारी हमलामा मानिसहरूलाई बचाउन सबै काम भइरहेको बताए।

१ सय ४५ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ६० जनाको अवस्था गम्भीर रहेको टासले बताएको छ । शुक्रबार राति मस्को शहर डुमाका अध्यक्ष एलेक्सी शापोश्निकोभले मस्कोका बासिन्दाहरूलाई पीडितहरूको उपचार गर्न रक्तदान गर्न आह्वान गरेका छन् ।

करिब १०० जनालाई अग्निनियन्त्रकहरूले भवनबाट बाहिर निकालेका थिए । रूसी संघको आपतकालीन अवस्था मन्त्रालयको मुख्य निर्देशनालयका अनुसार उद्धारकर्ताहरूले अझै पनि मानिसहरूलाई छतबाट निकाल्न काम गरिरहेका छन्।

मस्कोका नगर प्रमुख सर्गेई सोब्यानिनले आक्रमणलाई “भयानक त्रासदी” को संज्ञा दिएका छन् । मैले घटनाको समयमा पीडित सबैलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन आदेश दिएको छु, सोब्यानिनले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया