ललिता छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० चैत ९ गते २१:२९ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० चैत ३ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९८” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत ललिता छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई ललिता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: ललिता छन्द :::::
~ गण : त भ ज र
~ गण सङ्केत : २२१ २११ १२१ २१२
~ ८ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका ललिता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
कामै हुँदैन अहिले विना घुस
अड्डा अदातल जता छ अङ्कुश ।
२.
सत्ता हुँदैछ किन यो निरङ्कुश
आफ्नै जहान घरका गरी खुस ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
माया भुलेर मनकाे गयाै कता
छल्दै हिँड्यौ किन भयौ नि लापता ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
तिम्रो कुरा सुनिरहेँ निरन्तर
विश्वास के हुनु अझै गुम्यो भर ।
२.
थाहा छ जीवन यसै हराउँछ
त्यो कालले मन निकै पराउँछ ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[४]
१.
पर्दैछ रात मन यो, दुखाउने
पीडा कहाँ वदनको लुकाउने ।
२.
चिन्दैन मित्र दुनियाँ चरी रुँदा
फुर्किन्छ मांस मदले भरीहुँदा।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी
[५]
१.
सत्ता त धेर बदलिन्छ देशमा
हिँड्ने लिएर म त भार केशमा ।
२.
जाँदैछ फ़ेरि किन ऊ विदेशमा
के हुन्न उद्यम गरे त देशमा ।
✍️ दीपा समभाव
काठमाडौँ
[६]
१.
विध्वंसले जहरिलो बनाउने
बन्दैछ  विश्व सिनु झैँ गनाउने ।
२.
सत्ता र शक्ति पद मोहमा परी
ब्वाँसा भए कुटिल चालले गरी ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[७]
१.
सत्ता भएर पनि आज यो मति
भ्रष्टै भएर त नि देखियो गति ।
२.
चिन्दै छ आज दुनियाँ भयो दशा
खाएर हेर उसले त त्यो नशा ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[८]
१.
यो राष्ट्र हाँक्न नसकी दुखी बनी
माग्छन् गुहार दुनियाँ ठगे भनी ।
२.
गाँठो फुकाउनु हरे कसो गरी ?
बन्दैन काम यसरी  सधैँ डरी ।
✍️ विवश पारदर्शी
झापा
[९]
पीडा सहेर सबले खुसी हुँदा
छायो नवीन सुषमा चुली छुँदा ।
✍️ आर्त अकुलीन
कैलाली
[१०]
लेखेर जीवन कथा वृथा भयो
पढ्ने भएन मनुवा कता गयो ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[११]
१.
नेपाल देश पछि भो अझै किन
सत्ता भएन गतिलो कुनै दिन ।

आमाबुबा सुजनका खुशी हुने
आमाबुबा कपुतका सधैँ रुने ।
✍️ चुडा निर्भिक
हालः काठमाण्डौँ ।
[१२]
धान्छिन् उनी घर सधैँ, निमेकले
होला भलो मुलुकको, विवेकले ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ

::::: जय टुक्का! जय साहित्य!! ::::: 

प्रतिक्रिया