प्रदेश सभा सदस्य दिपक मनांगेले पार्टी त्यागेपछि गण्डकी प्रदेश सरकार गठनमा समस्या

बेद प्रसाद घिमिरे २०८० चैत ५ गते ९:१६ मा प्रकाशित

गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो ।

नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उहाँले एकीकृत समाजवादी त्यागेको घोषणा गर्नुभएको हो । मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र दिनुभएको छ ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा हुनुहुन्छ । कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् ।

यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले-माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सरकार सजिलै बन्ने स्थिति नदेखिएको हो ।

प्रतिक्रिया