अमेरिकाको ओहायो राज्यमा आएको घुम्रपात (टोर्नाडो) का कारण २ जनाको मृत्यु, १२ जना अस्पताल भर्ना,७ वटा राज्यमा घुम्रपातको चेतावनी

इनेप्लिज २०८० चैत २ गते ११:१७ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा आएको घुम्रपात (टोर्नाडो) का कारण २ जनाको मृत्यु भएको भने १२ जना अस्पताल भर्ना भएका छन् ।

एबिसीन्यूजका अनुसार टेक्ससदेखि ओहायोसम्मका ७ राज्यहरूमा घुम्रपात (टोर्नाडो) को निगरानीमा रहेका छन् । लोगान काउन्टी शेरिफको कार्यालयका अनुसार लेकभ्यू, ओहायोमा रातभरि आएको घुम्रपात (टोर्नाडो) का कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ।

लेकभ्यू र वरपरका समुदायहरूमा पनि व्यापक क्षति भएको विवरण प्राप्त भै रहेको अधिकारीहरूले बताएका छन् । साथै अन्य ठाउँमा इन्डियाना राज्यको रनडोल्फ काउन्टीमा बिहीबार राती घुम्रपात (टोर्नाडो) ले छोएको इंडियाना राज्य प्रहरीले बताए ।

अमेरिकी राष्ट्रिय मौषम सेवाका अनुसार बिहीबार साँझ टेक्ससदेखि ओहायोसम्मका विभिन्न सात राज्यहरूमा आठ वटा घुम्रपात (टोर्नाडो) आएको छ।

केन्टकी, दक्षिणी इन्डियाना र ओहायोका केही भागमा पछिल्लो घुम्रपात (टोर्नाडो) वाच अर्थात् निगरानी जारी गरिएको थियो। यो चेतावनी शुक्रबार बिहानसम्म प्रभावकारी रहनेछ ।

प्रारम्भिक मूल्याङ्कन पछि डेलावेयर काउन्टी आपतकालीन व्यवस्थापन सँस्थाको छापा विज्ञप्ति अनुसार इन्डियानाको सेल्मामा लगभग आधा संरचनाहरू क्षतिग्रस्त भएका छन्।

त्यस्तै इन्डियाना राज्य प्रहरीले यसअघि कम्तिमा ३ जनाको मृत्यु भएको बताएको थियो । तर शुक्रबार बिहानको एक पत्रकारसम्मेलनमा इन्डियाना राज्यका प्रहरी अधीक्षक डग कार्टरले जानकारी सही नभएको र कुनै पनि मृत्युको पुष्टि नभएको बताए।

प्रतिक्रिया