कविता – फरक 

सीता ओझा २०८० फागुन २७ गते ३:३२ मा प्रकाशित

तिमी सानो कामलाई ठुलो देख्छौ ।
म सरल तरीकाले बुझेर गर्न खोज्छु ।

तिमी अनगिन्ती समस्या ओकल्छौ ।
म जटिलताभित्र पनि समाधान देख्छु ।

म कामको महत्वको मतलब गर्छु ।
तिमी बेफिकरले गफ दिइरहन्छौ ।

तिमी आफ्नो बनाउन कसिएर बोल्छौ।
म काम चाहान्छु त्यसैले बिस्तारै बोल्छु ।

तिमीले पाए सबैलाइ नुन चुक दल्छौ ।
म त्यो थाहा पाएर पनि पचाई दिन्छु ।

तिमी,यो र त्यो भनेर पक्षपात गर्छौ
म सबैलाई व्यवहार समान गर्छु ।

म भ्रम र भ्रष्टताको सधै विरोध गर्छु ।
तिमी त्यहि दलदलमा फस्न खोज्छौ ।

तिमी आफुबाट होइन अरूबाट चल्छौ ।
म अध्ययन र विश्लेषणले चल्न खोज्छु ।

म तिम्रो चाकडीको लक्षण राम्रै बुझ्छु
म त्यसपछि व्यवहारमा फरक हुन्छु ।

तिमी कसैबाट उचालिएर माथि पुग्छौ ।
म उचालिन्न, तर क्षमताको जोहो गर्छु ।

तिमी शंकाले अर्काको मनमा आगो झोस्छौ ।
म विश्वास खोजेर त्यो घाउमा मलमपट्टी गर्छु।

तिमीले अरूको घरमा झोसेको आगो देखेर !
मलाई उकुसमुकुस हुन्छ र दमकल बोलाउछु ।

आफू केन्द्रमा बसेर अरू सोच्ने र खोज्ने तिमी !
अरूलाई केन्द्रमा राखेर मात्रै मलाई खोज्ने म ।

आखिर ! तिमी त्यस्तो व्यवहार किन गर्छौ ?
त्यसैले म तिमीले गरेको भन्दा फरक गर्छु।

सम्झ त ! तिमी र म विचमा फरकै फरक छ !
त्यही फरकमा तिम्रो र मेरो परिचय जोडिएको छ ।

सीता ओझा

प्रतिक्रिया