चार रात्रीहरू मध्येको उत्कृष्ट रात्री शिवरात्रीमा शिवध्वनि

बेद प्रसाद घिमिरे २०८० फागुन २६ गते १:५२ मा प्रकाशित

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदैछ ।

शिवजी उत्पत्ति भएको रात भन्ने अर्थमा नामाकरण भएको यस पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्येको एक विशेष रात्रि हो । यस रात्रिलाई युगौँदेखि नै पवित्र पर्वका रूपमा लिइँदै आएको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

शास्त्रीय वचनअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।”

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास गरिन्छ । महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका शिवालयमा शुक्रबार रातिदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ ।

प्रतिक्रिया