नगाइएको एउटा गीत

इनेप्लिज २०८० फागुन २६ गते ०:२६ मा प्रकाशित

ऋषि बस्ताकोटी

लैंगिक सवाल भनेको महिलाको मात्र बिषय हो भन्ने बुझेर हुर्केको म समविकास बुझ्न थालेपछि आफ्नै दृष्टिकोणमा परिवर्तन आउन थाल्यो। जिन्दगीलाई फर्केर हेर्दा आज जहाँ आइपुगिएको छ, यो यात्रा एक्लै सम्भव भएको होइन। आफू हिंडेको सबै बाटो आफैंले मात्र देखिएको पनि होइन। बाटो देखाइदिने, हिड्न प्रेरित गर्ने, सँगै हिड्ने, थाक्दा हिम्मत भर्ने, तत्कालिन सुविस्तालाई वास्ता नगरी कहिले अघि कहिले पछि लागेर सपनाको गोरेटो अनवरत पछ्याउने सबै सबैप्रति सम्मान लाग्छ। त्यसमा पनि मेरी श्रीमती कल्पना घिमिरेको भूमिका मेरा लागि विशेष रहेको छ । बीस बर्षको उमेरदेखि हरेक आरोहअवरोहहरुमा उनको साथ, सहयोग र प्रेरणा आज पर्यान्त रही आएको छ।

अन्तर्मुखी स्वभावको हुनाले मैले उनको योगदान र भूमिकालाई महसुस गरे पनि देखिने गरी कृतज्ञताका शव्दमा भने उति व्यक्त गरेको छैन। पेशागत जीवनमा समान हैशियतको हुँदा हुँदै पनि उनले जीवनमा मैले भन्दा धेरै सम्झौता गरेकी छन्। उनले मलाई पारिवारिक समय कटाएर भए पनि मेरो रहरका/ रुचिका क्षेत्रमा लाग्न समय मिलाइदिएकीछन्, पारिवारिक व्यवस्थापनमा कुशलातापुर्वल नेतृत्व लिएकी छन्, र आफ्नो पेशागत उन्नयनमा पनि अनवरत लागेकी छन्। परिवारको खुसीलाई सदा प्राथमिकतामा राखेकी छन् । भौतिक सुबिधाभन्दा खुसी जहिले पनि महत्वपूर्ण हुन्छ भन्ने उनले बुझेकी छन्, बुझाएकी छन्। जीवनका अफ्ठ्यारा समयहरूमा उनको भूमिका जहिले पनि धैर्यवान र दूर-दृष्टिपूर्ण रहँदै आएको छ।

सुमधुर सम्बन्ध सहअस्तित्वको आधारमा हुन्छ। सहयात्रा र सहजीवन समान बुझाइ, समान अवसर र समान कर्तव्यबोधका बीचमा फक्रन्छ, थाहा छ । परिवारमा बुवाआमा या श्रीमती-श्रामानबाट पाउने माया र सहयोगलाई पनि एकोहोरो अधिकारको रुपमा हेरिनु हुन्न, त्यो पनि लागिरहन्छ । यद्यपि पितृसत्तात्मक चिन्तनले जरा गाडेको दिमागबाट सैद्धान्तिक ज्ञान व्यवहारमा रुपान्तरित हुन भने सजिलो रहेनछ। घरि घरि लाग्छ – जीवनसाथी र सन्तानको सहजताको लागि कल्पनाले कति ठाउँमा आफू हारेकी छन्, र पनि जितेको महसुस गरेकी छन्। हाम्रा रहर पूरा गर्न नजानिँदो किसिमले आफ्ना रहर मारेकी छन्, र पनि सन्तुष्ट देखिएकी छन् । आफ्ना रुचिका विषय, सामाजिक काम, पारिवारिक दायित्व र पेशागत लक्षका वीच उचित सन्तुलन मिलाउने तौरतरिका उनीबाट अझै सिक्न बाँकी छ। संगै हिंडे पनि उनी मैलेभन्दा प्राय ठूलो भारी बोकेर हिंडेकी छन्, धेरै मानेमा उनी घरको व्यवस्थापन मिलाउने मियो हुन्, उध्रेको सिउने सियो हुन्, उज्यालो देखाउने दियो हुन्। मेरो जीवनका अनेक उपलव्धीका लागि, पारिवारिक व्यवथापन र स्थायित्वका लागि अनि हरेक खुसीका लागि उनीप्रति आभारी छु। उनको प्रशंशा मेरा लागि नगाइएको एउटा गाउनुपर्ने गीत जस्तै लाग्छ।

#InspireInclusion #InternationalWomensDay #internationalwomensday2024 #InternationalWomensWeek #IWD2024

प्रतिक्रिया