उत्तरी इजरायलमा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १ विदेशी कामदारको मृत्यु ,अन्य ७ जना घाइते

इनेप्लिज २०८० फागुन २१ गते १२:३३ मा प्रकाशित

उत्तरी इजरायलमा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १ विदेशी कामदारको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

सोमबार उत्तरी इजरायलमा एन्टी-ट्याङ्क मिसाइल( मार हान्ने क्षेप्यास्त्र)प्रहार हुँदा कम्तिमा एक विदेशी कामदारको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडीए) आपतकालीन उद्धार सेवाले जनाएको छ।

एमडीएका अनुसार लेबनानको सीमामा रहेको मार्गालियट क्षेत्रमा प्रहार गर्दा कामदारहरू घाइते भएका थिए। हालैका हप्ताहरूमा लेबनानबाट यस क्षेत्रमा क्षेप्यास्त्रहरु बारम्बार प्रहार गरिएको सिएनएनले जनाएको छ ।

सोमबार बिहान भएको आक्रमणमा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको एमडीएले जनाएको छ । कम्तीमा दुई जना पीडित थाई कामदार थिए । एमडीए र इजरायली वायुसेनाको उदग्रबिमान(हेलीकप्टर)ले घाइतेहरूलाई इजरायलको अस्पतालमा ल्याएको थियो ।

सबै पुरुषहरुको उमेर तीस वर्ष हाराहारीका रहेको एमडिएले जनाएको छ ।

प्रतिक्रिया